धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको होस्टल भित्रै वियर पिएर हो हल्ला गरेपनि प्रहरीले नियन्त्रणमा लिएका ४ जना विद्यार्थीलाई प्रतिष्ठानले जिम्मा लिएर लगेको छ ।

प्रतिष्ठान एकेडेमिक डिन डा.शिवेन्द्र झा आफै प्रहरी कार्यालय पुगेर ती विद्यार्थीहरुलाई जिम्मा लिएका हुन् । विद्यार्थीहरुलाई प्रतिष्ठानको ऐन, नियम अनुसार कारबाही गर्ने भनेर डिन झाले लिएर गएको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । उनले भने,‘वीपीबाट डिन आउनु भएको थियो, उहाँले ऐन, नियम अनुसार कारबाही गर्ने भनेर जिम्मा लिएर जानु भयो ।’

शुक्रबार बिहान प्रतिष्ठानको होस्टल भित्रै वियर पिएर हो हल्ला गर्ने, अन्य विद्यार्थीहरुलाई गालीगलौज गर्ने गरेपछि सेक्युटिरी गार्डले सम्झाउन खोजेका थिए । तर, ती विद्यार्थीहरुले अटेर गरेपछि होस्टल प्रशासनले नै प्रहरीलाई खबर गरेको थियो । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर मेडिकल जाँच (मापसे) गरेर प्रहरी कार्यालय लगेको थियो । 

प्रतिष्ठानका डिन डा.झाले प्रहरीमा पुगेर विद्यार्थीहरुलाई पक्राउ गरेर ल्याउनुको कारणबारे बुझेको र आफैले जिम्मा लिएर आएको बताए । ‘म आफै गएर लिएर आए । क्षति नगरे पनि हो हल्ला गरेको र क्षति हुन नपाओस् भनेर ल्याएको भनेर प्रहरीले भन्यो,’डिन झाले भने,‘विद्यार्थीहरुले होस्टलको नियम, आचारसंहिता ब्रेक गरेकोले कारबाही गर्ने गरि जिम्मा लिएको हुँ ।’ उनले विद्यार्थीहरुलाई कारबाही गर्ने बारे आइतबार आवश्यक छलफल गर्ने बताए । 

पछिल्लो समय कोभिड १९ को दोस्रो लहर आएपछि सबै विद्यार्थीलाई विदा दिएर घर पठाएको र केही दिनयता मात्र फिर्ता बोलाएको कारण विद्यार्थीहरु होस्टलमा आउन थालेको डिन झाको भनाई छ । ‘विद्यार्थीहरु भर्खर आएका छन्, कतिपयलाई कोरोना छ, त्यसैले नियमित अनुगमन भइरहेको छैन,’झाले भने,‘अब कडाई हुन्छ ।’