धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत संयुक्त संघर्ष समितिले डिनको कार्यालयमा पनि तालाबन्दी गरेको छ ।
पुर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार संघर्ष समितिले आइतबार एकेडेमिक डिनको कार्यालयमा पनि तालाबन्दी गरेको हो । समितिले हिजो शनिबार सिट्ठी जुलुस निकाल्दै सरकारलाई ७३ घण्टे अल्टिमेटम दिदा आइतबार डिनको कार्यालयमा पनि तालाबन्दी गर्ने घोषणा गरेको थियो । सोही घोषणा अनुसार आज डिनको कार्यालयमा तालाबन्दी गरिएको आन्दोलनरत जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा.पदम नेपालीले जानकारी दिए ।
प्रतिष्ठानका चार जना पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी भएपछि डिन कार्यालयमा बसेर कार्य सञ्चालन गरिरहेका थिए । आन्दोलनकर्मीहरुले गत असार १६ गते चारै जना पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गर्दै राजिनामाको माग गरेका थिए । दबाब दिन ताला लगाए पनि पदाधिकारीहरुले डिन कार्यालयबाटै कार्यसञ्चालन गरेपछि थप दबाब दिन त्यहाँ पनि तालाबन्दी गर्नुपरेको संघर्ष समितिले जनाएको छ ।
यसैगरि, आन्दोलनकर्मीहरुले आफुहरुको माग पुरा नभएको भन्दै विरोध स्वरुप हातमा कालोपट्टी बाँधेर काम गर्न थालेका छन् । उनीहरुले ७२ घण्टाभित्र माग पुरा नभए बुधबारदेखि कोभिड अस्पताल र इर्मजेन्सीबाहेकको सेवाहरु बहिष्कार गर्ने घोषणा गरिसकेका छन् । आन्दोलनकारीको माग वमोजिम सरकारले उच्चस्तरीय अध्ययन तथा छानबिन कार्यदल गठन गरेपनि अन्य मागहरु सम्बोधन गर्त वेवास्ता गरेको भन्दै संघर्ष समितिले थप कडा आन्दोलन घोषणा गरेको हो ।