धरान: धरानका निजी एवं संस्थागत विद्यालयहरुले गत बर्ष निर्धारण गरिएको शुल्क मात्र लिन पाउने भएको छ । 

धरान उपमहानगरपालिकाको आइतबार सम्पन्न कार्यपालिका बैठकले शुल्क निर्धारणबारे यस्तो निर्णय गरेको हो । बैठकले गत बर्ष भएको निर्णयलाई नै यो बर्ष पनि लागु गर्ने निर्णय गरेको शिक्षा महाशाखा प्रमुख रत्नबहादुर कटुवालले जानकारी दिए । उनका अनुसार अनलाइन कक्षा लिएका विद्यालयहरुले ५० प्रतिशत मात्र मासिक शुल्क लिन पाउनेछन् भने बार्षिक शुल्क प्रतिशतको आधारमा ३ हजारदेखि ७ हजारसम्म मात्र विद्यालयहरुले लिन पाउनेछन् ।

उनले भने,‘बार्षिक शुल्क विद्यालयहरुको अलग अलग छ । कसैले ६ हजार लिन्छ, कसैले २८ हजारसम्म लिन्छ । त्यसैले बार्षिक शुल्क पनि प्रतिशतको आधारमा गत बर्षकै निर्णय अनुसार ३ हजारदेखि बढीमा ७ हजारसम्म मात्र लिन पाउने भनिएको छ ।’

गत बर्ष के भएको थियो निर्णय ?

गएको शैक्षिक सत्रमा निजी विद्यालयहरुले अघिल्लो बर्ष २०७६/०७७ मा लिएको बार्षिक शुल्कको आधारमा धरान उपमहानगरपालिकाले विद्यालयहरुको बार्षिक शुल्क निर्धारण गरेको थियो । उक्त निर्णय अनुसार मासिक शुल्क अघिल्लो बर्ष लिएको शुल्कको ५० प्रतिशत मात्र लिन पाउने निर्णय भएको थियो । यस्तै, बार्षिक शुल्क ६ हजारसम्म भएको विद्यालयको हकमा ५० प्रतिशत अर्थात ३ हजार मात्र शुल्क लिन पाउने निर्णय भएको थियो । 

तीन हजारभन्दा कम बार्षिक शुल्क लिने विद्यालयहरुको हकमा अघिल्लो बर्ष लिने गरेको बार्षिक शुल्क रकम बराबर मात्र लिने निर्णय भएको थियो । यस्तै, ६ हजारभन्दा माथि ९ हजारसम्म बार्षिक शुल्क लिएका विद्यालयहरुले गत बर्ष ४० प्रतिशत मात्र शुल्क लिन पाउने निर्णय भएको थियो भने ९ हजारदेखि १२ हजारसम्म शुल्क लिइरहेका विद्यालयहरुले ३५ प्रतिशत शुल्क लिन पाउने निर्णय भएको थियो। 

यसैगरि, १२ हजारदेखि १५ हजारसम्म बार्षिक शुल्क लिने विद्यालयहरुले ३० प्रतिशत शुल्क लिन पाउने, १५ हजारदेखि २८ हजारसम्म बार्षिक शुल्क लिने विद्यालयहरुले २५ प्रतिशत मात्र शुल्क लिन पाउने निर्णय गत बर्ष भएको थियो । जसअनुसार विद्यालयहरुको न्युनतम बार्षिक शुल्क ३ हजार र अधिकतम बार्षिक शुल्क ७ हजार अभिभावकहरुले तिर्नुपर्ने हुन्छ । 

गत बर्षको निर्णय :

fee1

fee2