धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले आन्दोलनरत पक्षले अस्पताल सेवा पनि अवरुद्ध गर्ने घोषणा गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
आज (सोमबार) एक विज्ञप्ती जारी गर्दै रजिष्ट्रार डा.रेग्मीले आन्दोलनकारीले प्रतिष्ठानको विभिन्न शाखा, महाशाखामा काम गर्ने कर्मचारीहरुहरुलाई सामुहिकरुपमा कार्यलयमा गएर जानकारी माग गर्ने र त्यसको लागि व्यक्तिगतरुपमा दबाब दिएर अवाञ्छित क्रियाकलाप गरेको आरोप लगाउदै त्यसप्रति पनि ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले स्वास्थ्यकर्मी, कर्मचारीहरुलाई व्यक्तिगतरुपमा दबाब दिएको तथा कार्यमा अवरोध सिर्जना गरेको भन्दै उक्त कार्य दुःखद रहेको पनि बताएका छन् । उनले कुनै पनि बिषयमा आधिकारिक जानकारी लिनुपरे प्रवक्तामार्फत सुचनाको माग गर्न पनि उल्लेख गरेका छन् । उनले उच्चस्तरीय समितिमार्फत सरकारले आवश्यक छानबिन गरिरहेको भन्दै सबैले आ आफ्नो स्तरबाट समस्याको छिटो निकास निकाल्नेतर्फ आवश्यक पहलकदमीको आपसी अन्तरक्रिया, समन्वय र सहकार्य गर्न पनि आग्रह गरेका छन् ।