धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कोरोना विरुद्धको खोप लगाउन उमेर समुह एवं लक्षित समुहका नगरबासीहरुमा अपिल गरेका छन् ।
मेयर राईले मङ्गलबार एक सन्देश जारी गर्दै साउन २०, २१ र २२ गते धरानका वडाहरुमा तोकिएको खोप केन्द्रमा जोनसन एण्ड जोनसन खोप लगाउन अपिल गरेका हुन् । धरानमा साउन २० देखि २२ गतेसम्म तोकिएको वडाहरुको खोप केन्द्रमा ५० देखि ५४ वर्ष उमेर समुहका नागरिकहरुलाई जोन्सन खोप लगाइनेछ । यस्तै, वैदेशिक रोजगारमा जाने, अति अपाङ्ग तथा पूर्ण अपाङ्ग भएका नागरिकहरु, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु र सरसफाईकर्मीहरुलाई पनि यो खोप दिइनेछ ।
यस्तै, साउन २० र २१ गते वडा नं. १ स्थित उद्योग वाणिज्य संघमा कोरोना विरुद्धको भेरोसेल खोप उद्योग व्यवसायीहरुलाई लगाईने छ । उक्त खोप केन्दमा साउन २२ र २३ गते ५५ वर्ष उमेर माथिका र मानव अधिकारकर्मी, विमा, लगुवित्त, आएमई, सहकारी, सञ्चारकर्मी, छुटेका कर्मचारी, रेडक्रस, लाईन्स क्लब, रोटरी, संघ संस्था, छुटेका संस्थानका कर्मचारी, ईन्टरनेट–केवलमा कार्यरत कर्मचारी, शैलुनलाई लगाइने भएको छ ।
यसैगरि, मेयर राईले अहिले कोरोना भाइरसको नयाँ भेरियन्ट तीब्र गतिमा बढिरहेको र पछिल्लो समयमा विश्वका धेरै मुलुक लगायत नेपालमै पनि अत्यन्तै महामारीको रुपमा बढीरहेकोले सचेत र सजग रहन पनि आम नगरबासीलाई आग्रह गरेका छन् । पछिल्लो समय धरानमा कोरोना संक्रमणदर उच्च र मृत्युदर पनि दैनिक रुपमा बढिरहेको भन्दै उनले अत्यावश्यक काम परे मात्रै घर बाहिर निस्किन आग्रह गरेका छन् ।
घर बाहिर निस्कनै परे अनिवार्य नाकमुख छोपिने गरी मास्क र सेनिटाइजर प्रयोग गर्न, साथै साबुन पानीले पटक पटक हात धुन र सामाजिक दुरी कायम गर्न पनि मेयर राईले अनुरोध गरेका छन् । मेयर राईले सार्वजानिकस्थलहरुमा भिडभाड नगर्न पनि अनुरोध गरेका छन् । साथै, कुनै कोभिड सम्बन्धी लक्षण देखिए नजिकैको स्वास्थ्य संस्था वा धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखामा सम्पर्क गर्न पनि उनले अनुरोध गरेका छन् ।