धरान: जनता समाजवादी पार्टीसम्बाद्ध युवा संघका धरान उपमहानगर कमिटी युवा उपाध्यक्ष अहमान अलीको नेतृत्वमा २१ जना युवाहरु नेकपा एमाले प्रवेश गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपाल धरान उपमहानगर कमिटीले आइतबार आयोजना गरेको अगुवा युवा भेला तथा प्रशिक्षण कार्यक्रममा युवाहरु एमाले प्रवेश गरेका हुन् । धरान १ छाताचोकस्थित एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा युवा संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले युवाहरुलाई पार्टीमा स्वागत गरेका थिए ।
अलीले नेकपा एमालेको सिद्धान्त र विचार मन परेर पार्टी प्रवेश गरेको बताए । उनले भने,'समाजवादी युवा संघको धरान उपमहागनर कमिटी उपाध्यक्ष थिए । आफ्नो सोच विचारले एमाले प्रवेश गरेको हो । एमालेको सिद्धान्त, विचार मन परेर हो ।'
भारतीय एसएसबीले तुइन काटेर महाकालीमा नेपाली युवा बगाउदा पनि नबोल्ने निकम्मा सरकार: पौडेल
राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेलले जयसिंह धामीलाई एसएसबीले तुइन काटेर महाकाली नदीमा बगाउदा पनि एकशब्द उच्चारण गर्न नसकेको भन्दै निकम्मा र लाचार सरकारले देशको नेतृत्व गरेको आरोप लगाएका छन् । उनले कांग्रेस नेतृत्वको वर्तमान सरकार नेपाली जनता र भावना अनुरुप नभएको पनि बताए ।
'यो सरकार भनेको नेपाली जनताको भावनाको सरकार होइन, विदेशी मिशन र विदेशी चाहनाको सरकार हो भन्ने कुरा आम युवालाई बुझाउनु पर्छ, किनकी यसको सर्त नै त्यही छ,'पौडेलले भने, 'जनताको भावना सम्बोधन गर्न सिंहदरबार पठाइएको सरकार होइन, विदेशी मिशन र चाहनाको सम्बोधन गर्ने सर्तनामासहित मुलगेटबाट होइन, वार्दलीबाट छिरेर बनेको सरकार हो ।'

पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सत्यमेव जयते कि सिंह मेव जयते भनेर पाठ पढाउने केपी शर्मा ओली विश्वकै एक मात्र प्रधानमन्त्री र नेता भएको पनि जिकिर गरे । उनले युवाहरुमा देशभक्तिपुर्ण भावना जगाउन आवश्यक रहेको पनि बताए । पौडेलले अदालतले राष्ट्रिय, अन्तराष्ट्रिय तत्वको प्रभावमा परेर परमादेशको निर्णय गरेको भन्दै उक्त निर्णयलाई कुनै पनि दिन सही निर्णय भनेर स्वीकार नगर्ने पनि बताए । आगामी दिनमा पनि अदालतले यस्तो देशको हित विपरीत गर्ने निर्णय गर्नुअघि सयौं पटक सोच्न बाध्य बनाउन युवाहरुले आन्दोलनको आधिवेहरी सृर्जना गर्ने अध्यक्ष पौडेलको भनाई थियो । 'आगामी दिनमा यो देशको हित विपरीत आदेश दिन अदालतले सयौं पटक सोच्नुपर्छ, त्यसैले सडकमा हाम्रो सशक्त उपस्थिति हुनुपर्छ,'पौडेलले भने ।

पौडेलले देशको हित विरोधी शक्तिहरुले जर्बजस्ती मुलुकलाई मुठभेठको बाटोमा धकेल्न खोजेर द्धन्दको विजारोपण गर्न खोज्दा क्रान्तिकारीहरुले सडक, युद्धको मैदान कब्जा गर्नुपर्ने अन्र्तराष्ट्रिय मान्यता अनुरुप संघले देशव्यापीरुपमा सडक र अन्य रचनात्मक कार्यक्रमहरु गरिरहेका पनि बताए । विगतमा मुलुक स्थिरताको बाटोमा हिड्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्युत गर्ने षडयन्त्र शुरु भएको भन्दै उनले भने, 'देशको राजनीति स्थिर दिशामा गति लिन थालेको हुन्छ, अदृष्य अन्र्तराष्ट्रिय शक्तिले ब्याक गियर लगाउन थाल्यो । नेपालमा स्थिरता हुँदा विदेशी शक्तिको क्रिडास्थल बनाउदो रहेछ ।'
उनले सिरिया र रुवाण्डाकोजस्तो दर्दनाक स्थिति आउन नदिन युवा संघ आन्दोलनको मैदानमा उत्रिएको पनि दाबी गरे । केन्द्रीय अध्यक्ष पौडेलसहित उपाध्यक्ष तथा युथ फोर्स विभाग प्रमुख क्षितिज थेवे, उपाध्यक्ष तथा प्रदेश १ इञ्चार्ज अञ्जना अधिकारी र संघका केन्द्रीय महासचिव रमेश आचार्यको उपस्थितिमा प्रशिक्षण भएको थियो ।







