धरान: करिब एक दशकदेखि गीत, संगीतमा निरन्तर लागेका धरानका युवाहरुले गत बर्ष सल्लाह गरे, आफ्नै एक ब्याण्ड बनाउने । त्यही सल्लाहले जन्मियो, एजिज ब्याण्ड ।

स्थापना गरेको एक बर्ष पछि ब्याण्डले बचाईदेउ बोलको गीत रेकर्ड गरेको छ, र मंगलबार म्युजिक भिडियोसमेत सार्वजनिक गरेको छ । धरान १८ स्थित एमसि क्याफेमा आयोजित एक कार्यक्रममा ब्याण्डले म्युजिक भिडियो सार्वजनिक गरेको हो । नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋर्षि चाम्लिङले ल्यापटपमा क्लिक गर्दै ब्याण्डको म्युजिक भिडियो सार्वजनिक गरेका थिए । यो गीतको म्युजिक भिडियो ब्याण्डको अफिसियल युट्युब च्यानल एजिज ब्याण्डबाट पनि सार्वजनिक भइसकेको छ ।

Aeziz1

एजिज ब्याण्डमा को अर्डिनेटर एवं भोकलिष्ट मनकुमार लिम्बु रहेका छन् भने लिड गिटारिष्ट सन्तोष लिम्बु, ड्रमर प्रमोद लिम्बु, बेस गिटारिष्ट मनुहाङ राई र मेनेजर तथा एरेञ्जर आइमन राई रहेका छन् । ब्याण्डको यो पहिलो आफ्नै गीत र म्युजिक भिडियो हो । थप २ वटा गीतको म्युजिक भिडियो तयारी भइरहेको भोकलिष्ट मनकुमारले जानकारी दिए ।

विगतमा ब्याण्डका सदस्यहरुले कभर गीत गाउदै आएका थिए । यो समुहले करिब १० बर्षसम्म कभर गीत गाउदै, कन्सर्टहरुमा प्रस्तुती दिदै बिताएको थियो । अब भने परिपक्क महशुस भएकोले ब्याण्ड नै तयार गरेर गीत रेकर्ड गर्न शुरु गरिएको मनकुमारले बताए।