धरान:  जिल्ला प्रशासन कार्यालय सुनसरीले ३ दिन थप गरेको निषेधाज्ञाको अवधि आज राती १२ बजे सकिदैछ । कोरोना संक्रमणको अवस्था र निषेधाज्ञा वा लकडाउनको बिषयमा निर्णय गर्न आज दिउँसो धरानमा डिसिसिएमसि बैठक बस्ने भएको छ । 

 उक्त बैठकको लागि प्रमुख जिल्ला अधिकारी(सिडिओ) उमेश ढकालसहित सुरक्षा प्रमुखहरु पनि आउनेछन् । धरान उपमहानगरपालिकाको हलमा दिउँसो २ बजे बैठक राखिएको प्रजिअ ढकालले जानकारी दिए । उनका अनुसार उक्त बैठक धरानलाई केन्द्रीत गरेर हुनेछ ।

सुनसरी जिल्लामै धरानमा बढी संक्रमण र मृत्यु दर देखिएको कारण लकडाउन कडा गर्ने कि अन्य विकल्प खोज्ने भन्नेबारेमा छलफल हुने उनले बताए । 'कोरोनाको संक्रमणको अवस्था र धरानमा कडा लकडाउन गर्ने हो कि के गर्ने हो भनेर छलफल गछौं, सबैबाट आएको राय, सुझाव अनुसार त्यही सल्लाह गरेर निर्णय गछौं,' प्रजिअ ढकालले भने ।