विराटनगर: घरेलु मदिरालाई ब्राण्डिङ गरेर उत्पादन गर्ने र बजारीकरण गर्ने उद्देश्यले प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले गठन गरेको सम्भाव्यता अध्ययन कार्यदलले प्रतिवेदन बुझाएको छ ।

मन्त्रालयले ब्याण्ड भर्सेस ब्राण्ड अवधारणा अनुसार गठन गरेको कार्यदलले हिजो सोमबार सामाजिक विकास मन्त्री उषाकला राईलाई प्रतिवेदन बुझाएको हो । मन्त्री राईले प्रदेश १ मा रहेको श्रोत साधनलाई परिचालन गरेर आम्दानी गर्न सकिने देखेरै व्याण्ड भर्सेस ब्राण्ड अबधारणा ल्याईएको पनि बताइन् । उनले कानुन अड्चनहरुलाई हटाउँदै अवधारणालाई कार्यन्वयन गर्नुपर्नेमा जोडदिइन् । ‘समृद्धिको ढोका प्रदेश १ सरकारले खोल्यो,’मन्त्री राईले भनिन् । 

ushakala-rai

प्रदेश सरकारले कोदो उत्पादन हुने स्थानको छनौट गरेर कोदो लगाउन शुरु गर्ने मन्त्री राईको भनाई छ । उनले बनमारा मासेर कोदो लगाईने बताइन् । ‘गाउँपाखामा रहेको बनमारा उखेलेर कोदो रोपिनेछ,’मन्त्री राईले भनिन् । उनले नेपालको उत्पादनलाई छिमेकी देशहरु भारत र चीनमा लगेर बजारीकरण गर्नुपर्ने बताइन् । ‘विदेशीहरु नेपाली उत्पादन खोजेर बसेका छन्, हामी दिन सकिरहेका छैनौं,’मन्त्री राईको भनाई थियो । व्याण्ड भर्सेस ब्राण्ड समाजवादको सुत्रधार समेत रहेको उनको भनाई थियो ।

नेपाली घरेलु मदिराको उत्पादन शुरु भएपछि यो विश्वमा उत्पादित भन्दा सयौं गुणा राम्रो गुणस्तरको हुने मन्त्री राईको दाबी छ । उनले गुणस्तरिय उत्पादनका लागि वैज्ञानिक, प्राविधिक, औद्योगिक क्षेत्र, कानुन विज्ञ लगायतको टिम निर्माण गरिने जानकारी दिइन् । कार्यदलका  संयोजक तथा प्रदेश योजना आयोगका सदस्य डा. पूर्ण लोक्सोमले व्याण्ड भर्सेस ब्राण्ड बृहत अवधारणा भएको बताए । उनले १० जिल्लाका २२९ घरेलु मदिरा उत्पादकहरु, जनप्रतिनिधिलगायतसँग जानकारी संकलन गरेर प्रतिवेदन तयार गरिएको बताए ।