धरान: लकडाउन अवधिभर वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि कडाई गरिने भएको छ । 

धरानमा भदौ ४ गतेदेखि १३ गतेसम्म लकडाउन गरिने भएपछि धरानका मेयर, उपमेयरसहितको टोलीले प्रतिष्ठानको अस्पताल प्रशासनसँग छलफल गरेको थियो । उक्त छलफलले लकडाउन अवधिमा प्रतिष्ठानमा पनि कडाई गर्ने समझदारी गरेको हो । मेयर तिलक राईका अनुसार वीपी प्रतिष्ठानमा धरानसँगै विभिन्न जिल्लाबाट विरामी उपचारको लागि आउने, ओपिडीसँगै विभिन्न जाँच गर्दा व्यापक भिड हुने र त्यहीबाट पनि संक्रमण फैलने जोखिम भएकोले लकडाउन अवधिमा के गर्ने भनेर छलफल गरिएको हो । लकडाउन अवधिमा अस्पताल प्रशासनले पनि प्रतिष्ठान क्षेत्रमा कडाई गर्ने, विरामीको उपचारमा व्यवस्थित गर्ने, भिडभाड हुन नदिनेलगायतको कार्य गर्न आग्रह गरिएको उनले बताए ।

लकडाउन अवधिभर वीपी प्रतिष्ठान अघि सञ्चालनमा रहेको होटलहरु पनि बन्द गर्ने निर्णय भएको छ । प्रतिष्ठानले उपचारको लागि आएका विररामी र कुरुवाहरुको लागि भित्रै खानाको व्यवस्था गर्ने पनि समझदारी भएको ईलाका प्रशासन कार्यालय धरानका प्रमुख सुवास कुमार लामिछानेले जानकारी दिए । प्रतिष्ठान भित्रको क्यान्टिन खुल्ने भएकोले विरामी र कुरुवाहरुले त्यहाँ खाना, खाजा खरिद गर्न पाउनेछन् । 

यस्तै, प्रतिष्ठानका विद्यार्थी, कर्मचारीहरुलाई पनि लकडाउनबारे जानकारी दिएर आवतजावतमा कडाई गर्ने पनि समझदारी भएको छ ।  

प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक डा. दिव्यराज मिश्राले लकडाउन अवधिभर प्रतिष्ठानमा कार्यरत डाक्टर, नर्श, कर्मचारीहरुलाई आवतजावत गर्न पासको व्यवस्था गरिने जानकारी दिए । उनले यसपटक पासलाई कडाई गरिने पनि बताए । प्रत्येक दिन धरानका एक सय जना मानिसहरुको पिसिआर परिक्षण गर्ने पनि निर्णय भएको छ । त्यसको लागि उपमहानगरपालिकाबाट सिफारिस ल्याउनुपर्ने छ । प्रतिष्ठानभित्र अनावश्यकरुपमा हिडडुल गरेको पाइएमा कारबाही गरिने भएको छ ।

छलफलमा वीपी प्रतिष्ठानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साह, अनुसन्धान अधिकृत सुकित चौधरी, ईमरजेन्सी मेडिसिन प्रमुख प्रा.डा. ज्ञानेन्द्र मल्ल, मेट्रोन गायत्री राई, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, वडा नं. १७ का वडाध्यक्ष मनोज भट्टराई, अस्पताल प्रशासन सुपरभाईजर अशोक कुमार शाह, सशस्त्र प्रहरी नायव उपरिक्षक कृष्णकुमार श्रेष्ठ, जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरिक्षक भुवनबाबु खड्का, नगर प्रहरी निरिक्षक विष्णु कोईरालालगायत सहभागी थिए ।