धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको थाइराइड ल्याबमा प्रयोग भएको ठुलो संख्याको रिएजेन्ट किटहरुको आम्दानी सफ्टवेयरमा नदेखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक बर्ष २०७६/७७ को महालेखाको ५८ औं बार्षिक प्रतिवेदन अनुसार थाइराइड ल्याबमा प्रयोग हुने ५ प्रकारका ४६ हजार ३५० थान रिएजेन्ट किट उपयोग भएको थियो । तर, ८१ लाख २६ हजारमा खरिद भएको २७ हजार ८२४ थान रिएजेन्ट किटको आम्दानी प्रतिष्ठानको सफ्टवेयरमा प्रविष्ट गरेको नपाइएको प्रतिवेदनमा उल्लेख छ । ‘उल्लिखित अवस्थाले प्रतिष्ठानले प्रयोग गरेको सफ्टवेयरले देखाएको आम्दानी, किट खरिद, निकासी परिमाण र परीक्षण संख्या सम्बन्धमा यकिन गर्न सकिएन,’प्रतिवेदनमा भनिएकोछ,‘तसर्थ सफ्टवेयरको विश्वसनियता परीक्षण गरी आय व्यय यकिन हुनुपर्दछ ।’

करोडौंको उपकरणहरु प्रयोगविहिन अवस्थामा

महालेखाले प्रतिष्ठानको करोडौं मुल्यका उपकरणहरु चालु अवस्थामा नभएकोबारेमा पनि औल्याएको छ । ती मेसिन तथा उपकरणहरु समयमा मर्मत सम्भार गरी सेवा प्रवाह प्रभावकारी बनाउनुपर्ने महालेखाको सुझाव छ ।

प्रतिवेदन अनुसार प्रतिष्ठानमा रहेको ९ करोड ७२ हजारमा खरिद गरेको फोटो थेरापी, सीटी स्क्यान, भेन्टिलेटर, सिरिञ्ज पम्पलगायतका १९ उपकरण तथा मेशिनहरु चालु अवस्थामा छैन । यसले सेवा प्रवाहमा प्रभाव परेको र खरिद खर्च पनि उपलब्धीविहिन भएको प्रतिवेदनमा उल्लेख छ।

mahalekha