धरान: आर्थिक बर्ष २०७६/७७ मा धरान उपमहानगरपालिकाले सर्दु, पटनाली र सेहरा खोलाको नदीजन्य पदार्थ ठेक्कामा नियम अनुसार नगर्दा करिब अढाई करोड आय गुमाएको छ ।

उक्त बर्ष नदीजन्य पदार्थ बिक्रीको लागि आएका बालपत्रमध्ये बढी ५ करोड ९१ लाख कबोल गर्ने बोलपत्रदाता ठेकेदार सम्झौता गर्न आएन । सम्झौता गर्न नआएपछि उपमहागनरले उसको धरौटी २९ लाख ५५ हजार जफत गरेको थियो । सार्वजनिक खरिद ऐन २०६३ को दफा २७(५) मा उल्लेख भएअनुसार पहिलो सकारकर्ता सम्झौता गर्न नआएमा दोस्रो सकारकर्ताको कबोल अंक स्वीकृत गरि सम्झौता गर्नुपर्ने हुन्छ । तर, धरान उपमहानगरले दोस्रो बढी कबोल गर्ने एक निर्माण कम्पनीको स्वीकृत नगरि ठेक्का नै रद्द गरेको महालेखा परीक्षकको ५८ औं प्रतिवेदनमा उल्लेख छ ।

शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदन अनुसार दोस्रो बढी कबोल गर्ने कम्पनीले २ करोड ४१ लाख कबोल गरेका थिए । उपमहानगरपालिकाले उनको कबोल स्वीकृत नगरि ठेक्का रद्द गरेर दोस्रो कबोल अंकलाई न्युनतम कबोल अंक कायम गरि पुनः बोलपत्र आह्वान गरेको थियो । जसमा आएका बोलपत्रदातामध्ये बढी कबोल गर्ने एक सप्लायर्सको २ करोड ९५ लाख स्वीकृत गरेर उपमहानगरले सम्झौताको लागि पत्र पठाएको थियो । तर, लकडाउनको कारण सम्झौता हुन नसकि ठेक्का नै रद्द हुन पुगेको थियो । ‘समयमै ठेक्का व्यवस्थापन नभएको एवं शुरुको बोलपत्र प्रकृयामा दोस्रो घटी बोलपत्र स्वीकृत नगरेको कारण यो बर्षको आय गुमेको देखियो,’प्रतिवेदनमा भनिएको छ,‘समयमै बोलपत्र आह्वान गर्ने व्यवस्था मिलाउनुपर्दछ ।’

maha