धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धरान उपमहानगर समितिको सभापतिमा युवा नेता श्याम पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् ।

होटल धरान किचनमा पार्टीका जिल्ला, क्षेत्र र नगरका नेताहरु, महाधिवेशन प्रतिनिधिहरु, वडा सभापतिहरुको उपस्थितिमा पोखरेलले मंगलबार सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् । पोखरेलले आफ्नो उम्मेदवारी कुनै गुटको नभै समग्र नेपाली कांग्रेसको भएको दाबी गरे । उनले आफु कांग्रेसको सिद्धान्त बुझेर पार्टीमा आएको र विसुद्ध कांग्रेस मात्र भएको दाबी गरे । ‘म विसुद्ध कांग्रेस हुँ, सिद्धान्त बुझेरै आएको कार्यकर्ता हुँ, त्यसैले मेरो उम्मेदवारी कांग्रेसकै हो, कुनै गुटको होइन,’उनले भने,‘हाम्रो जुन समुह छ, त्यो धरानको संस्थापन हो । हाम्रो सभापति शेरबहादुर देउवा नै हो, महामन्त्री शशांक कोइराला नै हो ।’ यद्यपी, पोखरेललाई कांग्रेस नेता डा.शेखर कोइराला निकट मानिन्छ । 

shyam3

पोखरेलले आफु कांग्रेस कार्यकर्ता भएको जिकिर गर्दै गटुबन्दी परित्याग गर्ने बताए । नेतृत्वमा पुगेपछि पनि आफु कार्यकर्ताकोरुपमा रहने र सबैको पहुँचमा पुग्ने उनको भनाई छ । उम्मेदवारी जसले दिए पनि कांग्रेस नै भएको भन्दै पोखरेलले भने, ‘जसले उम्मेदवारी दिएपनि कांग्रेस हो । पार्टीको चुनाव हो, कांग्रेसले जित्छ, कांग्रेसले नै हार्छ । पार्टीलाई स्वच्छ बनाउनुपर्छ, सबैको बनाउनुपर्छ ।’ उनले आफु पार्टीको नगर सचिव भएर काम गर्दा गुटबन्दीभन्दा पर रहेर सबैलाई समेटेको पनि दाबी गरे । ‘नगरसचिव भएर काम गर्दा सबैलाई समेटेर बैठक बोलायौं । आम नेता, कार्यकर्तामा मैले गुटबन्दी गर्दिन, अन्याय गर्दैन भन्ने आशा र विश्वास छ,’पोखरेलले भने । 

प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ, कांग्रेस क्षेत्रीय सपभाति सरेशमान श्रेष्ठ, जिल्ला सचिव सुजेन्द्र गोले, मेयर एवं पार्टी नगर सभापति तिलक राई, धरानबाट निवार्चित ५ जना जिल्ला सदस्यहरु, २० वटै वडाका सभापतिहरु, महाधिवेशन प्रतिनिधिहरु, क्षेत्रीय पदाधिकारी र नगरका सबै पदाधिकारीहरु सहभागी थिए । 

ऐतिहासिक उपलब्धी जोगाउन उम्मेदवारी

shyam 1

सभापति पदका उम्मेदवार पोखरेलले गएको १३ औं महाधिवेशनबाट निवार्चित सभापति तिलक राईको नेतृत्वको टिमले धरानमा ऐतिहासिक कार्यहरु गरेको छ । उक्त उपलब्धीहरुलाई स्थापित गर्न तथा जोगाइ राख्न पनि आफ्नो उम्मेदवारी आएको पोखरेलले बताए । 

उनका अनुसार १३ औं महाधिवेशनबाट धरानबाट जिल्लामा प्रतिनिधित्व गर्ने नेताहरु पनि युवा आए भने नगर र वडाको नेतृत्वमा पनि युवाहरु आए । पोखरेल कांग्रेसको सचिव पदमा निवार्चित भएका थिए । तिनै युवा नेतृत्वले विगतमा धरानमा कमजोर रहेको कांग्रेसलाई उपनिर्वाचनबाट लालकिल्ला तोडेर पहिलो पटक स्थानीय तहको नेतृत्वमा स्थापित गराउन सफल भएको पोखरेलको भनाई छ । 

‘अघिल्लो पुस्तालाई अभिभावककोरुपमा अघि सार्यौं, र हामी युवा टिमले लागिपर्यौ, धरानमा उपनिर्वाचनमा ऐतिहासिक जित भयो,’उनले भने,‘धरानमा बषौंदेखि भाडामा पार्टी कार्यालय थियो, त्यही टिमले आफ्नै पार्टी कार्यालय बनायौं । यो २ वटा ऐतिहासिक कार्य गरेका छौं, त्यसलाई स्थापित गर्न, जोगाई पनि राख्न मेरो उम्मेदवारी हो ।’

विद्यार्थी राजनीतिबाट नेतृत्वमा आएका आएका अनुहार

shyam1

पार्टी सभापतिका उम्मेदवार पोखरेल विद्यार्थी राजनीतिबाट आएका हुन् । उनी २०५२ सालमा चन्द्र सँस्कृत माविमा अध्ययरत हुँदा नेपाल विद्यार्थी संघको ईकाई सचिव भएका थिए । पिण्डेश्वर विद्यापिठमा पनि क्याम्पस ईकाई सचिव भए भने महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्दा ईकाई उपसभापति भएका थिए । उनी संघको जिल्ला सदस्य हुँदै उपसभापति पनि भए ।

२०६० सालमा महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु सभापति उम्मेदवार भएका थिए । उनी झिनो मतान्तरले पराजित भएका थिए । उनी १३ औं महाधिवेशनबाट पार्टी सचिवमा निवार्चित भएका थिए । हाल उनी मेयर तिलक राईको सचिवालयमा पनि छन् । उनी लोकतान्त्रिक आन्दोलनको क्रममा काठमाण्डौंमा पुगेर सहभागी भएका छन् । ‘म लोकतान्त्रिक आन्दोलनमा हरेक पटक काठमाण्डौं पुगेको छुँ, विद्यार्थीको नेतृत्व गरेको छुँ,’पोखरेलले भने,‘पार्टीको हरेक गतिविधिमा र देशलाई संकट पर्दा उपस्थित छुँ । म डराएर भागिनँ, ज्यानको पनि प्रवाह नगरि लोकतान्त्रिक आन्दोलनमा होमिएको छुँ ।’