धरान: प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदहरुले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । 

आज विराटनगरस्थित निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर एमालेका १० जना सांसदहरुले एकीकृत समाजवादीमा आवद्ध हुन सनाखत गरेका छन् । सनाखत गर्ने सांसदहरूमा भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका उपेन्द्र घिमिरे, कृष्ण कुमारी राई र सावित्रा रेग्मी छन् भने इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ रहेका छन् । निर्वाचन आयोगले भदौ २२ गतेसम्म पार्टी रोज्ने सांसदहरुलाई सनाखत गर्ने समय दिएको थियो । सोही अनुसार विगत ३ दिनदेखि धरानस्थित वीपी प्रतिष्ठानको गेष्ट हाउसमा बसिरहेका १० जना सांसदहरु आज सनाखतको लागि निर्वाचन कार्यालय गएका हुन् ।

एमालेका १० जना प्रदेश सांसदहरुले एकीकृत समाजवादी रोजेपछि एमाले नेता एवं मुख्यन्त्री भीम आचार्यको सरकार संकटमा परेको छ । आचार्यले संसदमा बहुमत गुमाएका छन् । अब ३० दिनभित्र मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनुपर्ने हुन्छ । तर, उनले विश्वासको मत पाउनसक्ने देखिदैन । कुल ९३ जना प्रदेश सभामा एमालेका ५१ जना सांसदहरु थिए भने कांग्रेसको २१, माओवादी केन्द्रका १५, जसपाको ३ सांसद, सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १, १ जना सांसद छन् । अब एमालेका १० सांसदहरु नेकपा एकीकृत समाजवादी भएका छन् ।