धरान: प्रदेश सरकार गठनमा निर्णायक बनेको एमालेका माधव नेपाल पक्षीय सांसदहरु विराटनगरबाट धरानमा आएर गोप्यरुपमा बसिरहेको खुलेको छ । 

प्रदेश १ मा सरकार गठनको रस्साकस्सी चलिरहदा एमालेका माधव नेपाल पक्षीय सांसदहरु सोमबारदेखि धरानमा गोप्यरुपमा आएर बसिरहेका हुन् । उनीहरु सोमबार दिउँसो करिब २ बजेतिर धरान आएका थिए । उनीहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेष्ट हाउसमा बस्ने व्यवस्था मिलाइएको छ । सरकारकै निर्देशनमा प्रतिष्ठान व्यवस्थापन पक्षले गेष्ट हाउसमा खाने, बस्ने व्यवस्था मिलाएको हो । यद्यपी, दिउँसो भने सांसदहरु विगतमा निर्वाणाले सञ्चालन गरेको भिआइपी गेष्ट हाउसमा गएर बिताउने गरेका छन् । वीपीका उपकुलपति डा.ज्ञानेन्द्र गिरी भने काठमाण्डौंमा छन् । अहिले रेक्टर प्रा.डा.गुरु खनाल निमित्त उपकुलपति छन् । उनी माओवादी केन्द्र निकट मानिन्छ ।  

धरानका एक नेताका अनुसार कसैलाई थाह नदिनको लागि सांसदहरु दिनभर निर्वाणाको गेष्ट हाउसमा गएर छलफल गर्दै समय बिताउने गरेका छन् । राती भने गेष्ट हाउसमा आएर सुत्छन् । ‘दिउँसो चहलपहल हुने भएकोले निर्वाणाको भिआइपी गेष्ट हाउसमा गएर बस्छन्, र राती मात्र यता गेष्ट हाउसमा सुत्न आउछन्,’ती नेताले भने,‘विराटनगरको होटलमा बसेको हल्ला चलेपछि सुटुक्क वीपीमा आएका हुन् । खाने, पिउने, पार्टी गर्ने सबै व्यवस्था छ ।’ ती स्रोतका अनुसार सांसदहरु धनकुटा पुगेको हल्ला चलाएर गोप्यरुपमा वीपीमा बसिरहेका हुन् । कसैलाई थाह नदिन गेष्ट हाउसबाट निर्वाणासम्म ल्याउन र लैजान २ वटा मात्र गाडी राखिएको छ । 'यहाँको बारे पनि सार्वजनिक भयो भने रातारात अर्केतिर जान सक्छन्,'उनले भने । 

एमालेका १० जना सांसदहरु माधव नेपालको नेकपा (एकीकृत समाजवादी)मा जाने दाबी गरिएको छ । ती सांसदहरु एमाले नेताहरुको सम्पर्कमा छैनन् । उनीहरुलाई एकीकृत समाजवादीले विराटनगरको एक होटलमा राखेको थियो । त्यसबारे मिडियामा सार्वजनिक भएपछि गोप्यरुपमा धरान ल्याइएको हो । आज (मंगलबार) दिउँसो ती सांसदहरुलाई भेट्न विराटनगरबाट नेपाली कांग्रेसका केही सांसदहरु पनि आएको स्रोतको दाबी छ । एमालेका ती सांसदहरुले भोली (बुधबार) निर्वाचन आयोगमा सनाखत गर्न जाने भएका छन् । त्यसअघि एमाले पार्टीको सम्पर्कमा पुगेर सांसदहरुले निर्णय वदल्नसक्ने भएकोले गोप्यरुपमा कसैलाई सम्पर्क हुन नदिई राखेको हो ।

प्रतिष्ठानस्थित एक सेक्युरिटी गार्डले सांसदहरु वीपी प्रतिष्ठानमा बसिरहेको पुष्टि गरे । यद्यपी, उनले ती कुन पार्टीका सांसदहरु हुन् भन्ने जानकारी नभएको बताए । ‘कुन पार्टीको हो थाह छैन, हिजो (सोमबार) दिउँसो २ बजेतिर सभासदहरु आएर गेष्ट हाउसमा बसेको छ,’ती गार्डले भने,‘कार्यक्रममा आएको भन्ने सुनेको हो । बिहान कार्यक्रममा गए, र बेलुका गेष्ट हाउसमा खाना खान, सुत्न आउछन्।’ उनले संख्या यकिन नभए पनि ८, १० जना जति भएको बताए ।

अझै २ जना सांसद थपिने

एमाले परित्याग गरेर माधव नेपालको नेकपा(एकीकृत समाजवादी) पार्टीमा जान अहिलेसम्म १० जना सांसद तयार देखिएको छ । तर, निर्वांचन आयोगमा भोली बुधबार सनाखत गर्दा अझै २ जना सांसद थपिने स्रोतको दाबी छ । ‘भोली निर्वाचन आयोगमा सनाखत गर्ने बेलासम्म २ जना सांसद थपिने कुरा छ,’स्रोतले भन्यो ।

प्रदेशमा एमाले सरकार जोगाउन शेरधन राईले मुख्यमन्त्रीबाट राजिनामा दिएर विगतमा माधव नेपाल पक्षका भीम आचार्यलाई मुख्यमन्त्री बनाइएको छ । एमालेको एकल बहुमत रहेको प्रदेश १ मा एमाले त्यागेर एकीकृत समाजवादीमा ६ जना जति सांसद मात्र गएपनि आचार्यको सरकार अल्पमतमा पर्ने निश्चित छ।