धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया आजदेखि शुरु भएको छ । देशका विभिन्न जिल्लाका वडाहरुमा कांग्रेसको नेतृत्व चयन हुदैछ ।

धरान उपमहानगरपालिका क्षेत्रमा भने कांग्रेसको वडा अधिवेशन भदौ २१ गते हुने भएको छ । धरानका २० वटा वडाहरुबाट ४४८ जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । ती प्रतिनिधिहरुले नगर, क्षेत्रीय समिति, जिल्ला नेतृत्व र महाधिवेशन प्रतिनिधि पनि छान्नेछन् । त्यसैले कांग्रेसको वडा अधिवेशन अत्यन्तै महत्वपुर्ण हुने कांग्रेस धरानका सचिव तथा सभापति पदका उम्मेदवार श्याम पोखरेलले बताए ।

सचिव पोखरेलका अनुसार वडा अधिवेशनहरु सर्वसम्मतरुपमा नेतृत्व चयन गर्न पहल भइरहेको छ । धेरै वडाहरुमा सहमति जुटिरहको पनि उनले जानकारी दिए । ‘सर्वसम्मत नेतृत्व चयनको लागि पहल भइरहेको छ,’सचिव पोखरेलले भने,‘धेरै वडामा सहमति हुदैछ ।’ वडाहरुमा सहमति भएपनि औपचारिकरुपमा भने २१ गते नै निर्वाचन समितिमार्फत घोषणा हुनेछ । धरानको वडा नं २ मा करिब एक महिना अघि नै कांग्रेसको वडा सभापतिमा सर्वसम्मतरुपमा सुधिरसिंह लिम्बु चयन भएको सार्वजनिक भइसकेको छ । 

धरानमा कांग्रेसको नगर अधिवेशन भने भदौ २७ गते हुनेछ । वडाहरुबाट चयन भएका ४४८ जना प्रतिनिधिहरुले नयाँ नेतृत्व चयन गर्नेछ । सुनसरी निर्वाचन क्षेत्र नं १ (ख)तर्फबाट १२१ जना थप प्रनिनिधित चयन भएर आउनेछन् । उनीहरुसमेत गरि ५६९ प्रतिनिधिले क्षेत्रीय समिति पनि चयन गर्नेछ ।