विराटनगर: प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले उद्योगी व्यवसायीहरुको समस्याप्रति प्रदेश सरकार गम्भीर भएको बताएका छन् ।

कोभिड–१९ का कारण भएको समस्याप्रति सरकार गम्भीर भएको उल्लेख गर्दै उद्योग व्यवसाय प्रवद्र्धनका लागि प्रदेश सरकारले नयाँ कार्यक्रम ल्याउने पनि आचार्यले बताए । शनिवार धरानमा सुनसरी उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गदैं मुख्यमन्त्री आचार्यले हाल राजनीतिक परिस्थिति प्रतिकुल भएको तर परिस्थिति अनुकुल भएपछि सरकारले प्रदेश १ को अर्थतन्त्र मजबुद बनाउन नयाँ योजना ल्याउने बताए । 

मन्त्रीपरिषदको पहिलो वैठकबाट यातायात व्यवास्था कार्यालय, मालपोत कार्यालयहरुबाट अनलाइन सेवा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिदै आचार्यले कोभिड प्रभाव न्यूनिकरणका लागि १० करोड बजेट विनियोजन गरेर प्रदेश सरकारले काम थालेको पनि बताए । प्रदेश सरकारको विकास सम्वृद्धिका लागि उद्योगी व्यवसायीहरुसँग हातेमालो गरेर अगाडि बढ्ने सरकारको नीति भएकोले सरकारलाई सहयोग गर्नसमेत उनले आग्रह गरे । 

कार्यक्रममा प्रदेश सभामुख प्रदिपकुमार भण्डारीले प्रदेशको आर्थिक सम्वृद्धिका लागि उद्योगी र व्यवसायीको ठूलो भूमिका भएको बताए । सुनसरी उद्योग बाणिज्य संघ अध्यक्ष गिरीधारी सापकोटा, पूर्ण अध्यक्ष मोहनकाजी शाक्य, प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठलगायतले व्यवसायी र उद्योगीहरुको तत्कालका समस्याहरु उठाएका थिए ।