धरान: नेकपा एमालेबाट माधव नेपाल छुट्टीएर नयाँ पार्टी खोलेपनि सुनसरीमा भने एमालेको समस्या हल हुनको साटो झन् जेलिदै गएको छ ।

पार्टी विवाद हल गर्न १० बुँदे सहमति कार्यान्वयन गर्नको लागि प्रदेश १ मा सहजीकरण गर्न बनेको कार्यदलले २०७५ जेठ २ अघिको कमिटी पुर्नस्थापित गर्ने निर्णय गरेको थियो । उक्त कार्यदलको निर्णय अनुसार सुनसरीमा रमेश बस्नेत अध्यक्ष रहेको जिल्ला कमिटीले आधिकारिकता पाएको छ । तर, विगतमा बस्नेत माधव नेपालको पक्षमा रहेर आफ्नै पार्टीको सरकारविरुद्ध आन्दोलनमा हुँदा २०७७ फागुनमा रेवतीरमण भण्डारीको अध्यक्षतामा एमाले जिल्ला कमिटी गठन भएको थियो । भण्डारी नेतृत्वको उक्त कमिटीले जेठ २ पुर्वको कमिटी स्थापित गरे पार्टी हितमा नहुने निष्कर्ष निकालेको छ । 

शनिबार उक्त कमिटीको सचिवालयको बैठक बसेर शुक्रबार जिल्ला पदाधिकारी बैठकले गरेका निर्णयहरु अनुमोदन पनि गरेको छ । बैठकले पार्टी केन्द्रीय कमिटीको निर्णयमा उल्लेखित पार्टी एकताको भावना र जीवन्ततालाई ख्याल गर्दै १० बुँदे सहमतिलाई जिल्लामा बिशिष्टीकृतरुपमा लागु गरिनुपर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख रवि खनालले जानकारी दिएका छन् । यस्तै, २०७७ फागुन १ गते गठन भएको जिल्ला कमिटी र त्यसपछि गठन भएको पालिका, वडा, जनवर्गीय कमिटीका हजारौं पार्टी कार्यकर्ताको सञ्चालन र व्यवस्थापनको पनि टुंगो लगाउनुपर्ने उल्लेख छ ।

‘पार्टी केन्द्रिय कमिटीको २०७८ भाद्र १० गते बसेको बैठकको निर्णयको मर्म र भावना बमोजिम २०७५ जेष्ठ २ गतेको पूर्व अबस्थामा कमिटीहरु सञ्चालन गर्ने निर्णय सम्बन्धमा हिंजोसम्म पार्टीको बिपक्षमा रहेका ब्यक्तिहरुलाई जस्ताको त्यस्तै स्थापित गर्दा पार्टीको हितमा नहुने, पार्टीले गतिशिलता प्राप्त गर्न नसक्ने अबस्था बिद्यमान रहेको हुँदा पार्टी केन्द्रिय कमिटीको निर्णयलाई सुनसरी जिल्लाको बस्तुगत अबस्था र बर्तमान यथार्थलाई सम्बोधन गर्ने गरी रचनात्मक ढंगले कार्यान्वयन गरिनु पर्छ,’ खनालद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘२०७५ जेष्ठ २ को अबस्थामा पार्टीलाई फर्काउने सम्बन्धमा नेतृत्व ब्यवस्थापन गर्दा तल्लो तह सम्म नै संकटका बेला पार्टी काममा लागेर पार्टी जोगाएका र अहिले पनि बिपक्षी गठबन्धनसंग मिलेर आन्दोलन गर्ने भनिएकाहरुको बिचमा जिल्लाको बस्तुस्थितीका सम्बन्धमा ब्यापक छलफल पश्चात उचित निष्कर्ष निकाल्नु पर्ने छ ।’

बैठकले यी बिषयहरुलाई ध्यान नदिइ कुनै निर्णय भएमा जिल्ला कमिटी मात्र नभै हजारौं कार्यकर्ताहरुलाई स्वीकार नहुने र पार्टी नै कमजोर हुने पनि ठहर गरेको छ । बैठकले जेठ २ गतेको अवस्था कसरी टुंगो लाग्ला भनेर नअलमलिकनै आ आफ्नो क्षेत्रको कामलाई निरन्तरता दिने पनि निर्णय गरेको खनालले जनाएका छन् ।

uml 1