धरान: धरानको नगर कार्यपालिका बैठकले निजी तथा संस्थागत विद्यालयहरुको बार्षिक र मासिक शुल्कबारे पनि निर्धारण गरेको छ ।

आज बसेको कार्यपालिका बैठकले शुल्क पनि निर्धारण गरेको हो । उपमहानगरपालिकाका अनुसार गत बर्ष लिएको बार्षिक शुल्कमा न्युनतम ५० प्रतिशतदेखि सतप्रतिशतसम्म लिन पाउने निर्णय गरेको छ । जसअनुसार गत बर्षको शुल्कमा न्युनतम ५ हजारदेखि अधिकतम १४ हजारसम्म अभिभावकले शुल्क तिर्नुपर्ने हुन्छ । गत बर्ष भने न्युनतम ३ हजारदेखि अधिकतम ७ हजारसम्म मात्र बार्षिक शुल्क तोकिएको थियो । 

गत बर्षको बार्षिक शुल्क ५ हजारसम्म कायम भएका विद्यालयहरुले गत बर्ष कायम भएको शुल्क बराबर अर्थात सतप्रतिशत शुल्क लिन पाउने भएको छ । तर, ५ हजारदेखि १० हजारसम्म बार्षिक शुल्क भएका विद्यालयहरुले ८० प्रतिशतसम्म मात्र शुल्क लिन पाउनेछन् । तर, प्रतिशतबाट गणना गर्दा ५ हजारभन्दा घटी भएमा न्युनतम ५ हजार शुल्क लिन पाउनेछन् ।

यसैगरि, १० हजारभन्दा माथि २० हजारसम्म बार्षिक शुल्क लिएको विद्यालयहरुले ६० प्रतिशत शुल्क लिन पाउनेछन् भने २० हजारदेखि माथि जतिसुकै भएपनि ५० प्रतिशत बार्षिक शुल्क लिन पाउनेछन् । यो स्तरका विद्यालयले अधिकतम १४ हजारमा नबढ्ने गरि मात्र शुल्क लिनुपर्ने हुन्छ । यो निर्णयअनुसार न्युनतम ५ हजारदेखि अधिकतम १४ हजार बार्षिक शुल्क कायम भएको छ ।

यस्तै, अनलाइन कक्षा सञ्चालन गरेका विद्यालयहरुले अनलाइन कक्षामा सहभागी भएका विद्यार्थीहरुबाट मात्र मासिक शुल्क ७० प्रतिशत लिन पाउने पनि निर्णय गरेको छ । गत बर्ष भने ५० प्रतिशत मात्र लिन पाउने निर्णय भएको थियो । कार्यपालिका बैठकले शुल्क निर्धारण गरेपनि विद्यालय संचालक, संस्थापक तथा अभिभावकहरूको बीचमा आपसी सहमति तथा समझदारी भएमा सोही अनुसार मासिक तथा बार्षिक शुल्क कायम हुने निर्णय भएको छ । उनीहरुबीचमा सहमति तथा समझदारी नभएको खण्डमा मात्र कार्यपालिका निर्णय अनुसार हुने उपमहानगरपालिकाले जनाएको छ । 

fee