धरान: गएको भदौ ३१ गते धरानको कार्यपालिका बैठक बसेर विद्यालयहरु तिहार पछि मात्र खोल्ने निर्णय गरेको थियो । उक्त निर्णय धरानका केही ठुला विद्यालयहरुले नमाने पनि अधिकांश शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गरेको थिएन ।

स्थानीय सरकार भने आफुले गरेको उक्त निर्णयलाई एक साता बितेलगत्तै आफैले उल्टाइदिएको छ । शुक्रबार(आज) बसेको कार्यपालिका बैठकले विगतको आफ्नै निर्णय विपरीत असोज १० गते आइतबारदेखि विद्यालय खोल्ने निर्णय गरेको हो । यो निर्णय सार्वजनिक भएलगत्तै कार्यपालिका तथा उपमहानगरपालिका नेतृत्व र जनप्रतिनिधिहरुको चर्को आलोचना भइरहेको छ । 

स्थानीय सरकारको हैसियतमा निर्णय गर्ने तर उक्त निर्णयमा टिक्न नसक्ने भन्दै आलोचना भइरहेको हो । यसअघि पनि धरानमा संक्रमण बढेको भन्दै लकडाउन गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णय केही दिनमै फिर्ता लिन उपमहानगरपालिका बाध्य भएको थियो । आइतबारदेखि विद्यालय खोल्ने निर्णय गर्नुमा विद्यालय सञ्चालकहरुको दबाब थेग्न नसकेको भन्दै जनप्रतिनिधिहरुको आलोचना भएको हो । तर, विद्यालय सञ्चालक र शिक्षकहरु भने विद्यालय खोल्ने निर्णयको स्वागत गरिरहेका छन् । केही शिक्षकहरु भने उपमहानगरपालिकाको अपरिपक्क निर्णय भन्दै सामाजिक सञ्जालमा आलोचना गरिरहेका छन्। 

उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले भने धरानमा कोरोना संक्रमणको दर दिनप्रतिदिन घट्दै गएको तथ्यांकबाट देखिएको कारण कार्यपालिका बैठकले भौतिकरुपमा नै विद्यालय खुलाएर पठनपाठन शुरुवात गर्ने निर्णय गरिएको बताए । वडाअध्यक्षहरु र अभिभावकहरुबाटसमेत विद्यालय खुलाउन आग्रह भएपछि निर्णय गरिएको उनको भनाई छ । 

उपमहानगरपालिकाले दशैतिहारको बिचमा हुने लामो विदामा पनि विद्यालय बन्द नगर्न आग्रह गरेको छ । साथै, संस्थागत विद्यालयहरुबाट लिइने शुल्कलाई विगतमा झैं अभिभावक र विद्यालयको सहमति तथा समन्वयमा शुल्क लिन व्यवस्था गर्न पनि उपमहानगरपालिकाको आग्रह छ ।dharan-education