धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धरान उपमहानगर कार्यसमितिको नयाँ नेतृत्व चयन गर्न मतदान शुरु भएको छ ।
धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघमा बिहान ८ बजेदेखि मतदान शुरु भएको हो । मतदानस्थलमा उम्मेदवार, मतदाता रहेका क्षेत्रीय प्रतिनिधिहरु, कांग्रेस नेता तथा कार्यकर्ताहरुको जमघट छ । नेता, कार्यकर्ताहरु उत्साहका साथ भेला भएका छन् । कुल ४९६ जना मतदाता छन् । दिउँसो २ बजेसम्म मतदानको समय तोकिएको छ ।
कांग्रेस धरानको सभापतिमा किसोर राई र श्याम पोख्रेल प्रतिस्पर्धामा छन् । पदाधिकारीहरुमा पनि सभापतिका दुवै उम्मेदवारको प्यानल छ । राई कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका हुन् भने पोख्रेल वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मानिन्छन् । राई र पोख्रेल नेतृत्वमा प्यानलमै पदाधिकारीहरुमा उम्मेदवारी दर्ता भएको हो । राई अघिल्लो महाधिवेशनमा वर्तमान सभापति मेयर तिलक राईसँग पराजित भएका थिए । त्यसअघि उनले १४ बर्षसम्म कांग्रेस धरानको सभापति भएर नेतृत्व गरेका थिए । पोख्रेल भने गएको महाधिवेशनबाट सचिव पदमा विजयी भएका थिए ।
यस्तै, दुई उपसभापति पदमा किसोर राई प्यानलबाट महेन्द्र तामाङ र राजकुमार थोप्राले उम्मेदवारी दिएका छन् भने श्याम पोख्रेल प्यानलबाट नरेन्द्रकुमार राई(प्रविण) र सन्तोष लिम्बुले उम्मेदवारी दिएका छन् । सचिव पदमा पोख्रेल प्यानलबाट जितेन्द्र राई र हिमाल श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ भने राई प्यानलबाट रुक्मिणी गौतम (कोपिला) र सुमन श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
सहसचिव पदमा राई प्यानलबाट कमला कार्की बिक र गोपाल कार्कीको उम्मेदवारी दर्ता भएको छ भने पोख्रेल प्यानलबाट युनेश राना मगर र शिला बज्रचार्यको उम्मेदवारी दर्ता भएको छ । यसबाहेक धरानका २० वटा वडाबाट प्रतिनिधित्व गरेर आउने एक सय कार्यसमिति सदस्यहरु भने निर्विरोध निवार्चित भइसकेका छन् ।