धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार (भोली) हुने धरान उपमहानगर कार्यसमिति निर्वाचनको लागि उम्मेदवारी दर्ता गरिएको छ । 

निर्वाचनको लागि सभापतिसहित सम्पुर्ण पदाधिकारीहरुमा दुई वटा प्यानलबाट उम्मेदवारी दर्ता भएको हो । सुनसरी उद्योग वाणिज्य संघमा भएको उम्मेदवारी दर्तामा सभापति पदमा किसोर राई र श्याम पोख्रेलले मनोनयन दर्ता गराएका छन् । राई कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका हुन् भने पोख्रेल वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मानिन्छन् । राई र पोख्रेल नेतृत्वमा प्यानलमै पदाधिकारीहरुमा उम्मेदवारी दर्ता भएको हो । राई अघिल्लो महाधिवेशनमा वर्तमान सभापति ं मेयर तिलक राईसँग पराजित भएका थिए । त्यसअघि उनले १४ बर्षसम्म कांग्रेस धरानको सभापति भएर नेतृत्व गरेका थिए । पोख्रेल भने गएको महाधिवेशनबाट सचिव पदमा विजयी भएका थिए ।

यस्तै, दुई उपसभापति पदमा किसोर राई प्यानलबाट महेन्द्र तामाङ र राजकुमार थोप्राले उम्मेदवारी दिएका छन् भने श्याम पोख्रेल प्यानलबाट नरेन्द्रकुमार राई(प्रविण) र सन्तोष लिम्बुले उम्मेदवारी दिएका छन् । सचिव पदमा पोख्रेल प्यानलबाट जितेन्द्र राई र हिमाल श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ भने राई प्यानलबाट रुक्मिणी गौतम (कोपिला) र सुमन श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

सहसचिव पदमा राई प्यानलबाट कमला कार्की बिक र गोपाल कार्कीको उम्मेदवारी दर्ता भएको छ भने पोख्रेल प्यानलबाट युनेश राना मगर र शिला बज्रचार्यको उम्मेदवारी दर्ता भएको छ । यसबाहेक धरानका २० वटा वडाबाट प्रतिनिधित्व गरेर आउने एक सय कार्यसमिति सदस्यहरु भने सर्वसम्मत भएको कांग्रेस सुनसरीका जिल्ला सचिव सुजेन्द्र गोले तामाङले जानकारी दिए । उनका अनुसार प्रत्येक वडाबाट १ महिलासहित ३ जना सदस्य गरेर ६० जना सर्वसम्मत चुनिएका छन् भने ४० जना समानुपातिकबाट सर्वसम्मत चुनिएका छन् । यस्तै, प्रदेशसभा क्षेत्रीय प्रतिनिधि(अपांग) एक महिलासहित २ जना चुनिनु पर्नेमा एक जन मात्र चुनिएको पनि सचिव गोलेले जानकारी दिए । 

धरानमा शनिबार सुनसरी उद्योग वाणिज्य संघको हलमा बिहान ८ बजेदेखि मतदान प्रक्रिया शुरु हुनेछ । धरानका २० वडाहरुबाट छानिएका ४७० क्षेत्रीय प्रतिनिधि, २० वडाका बुथ अध्यक्ष र सांसद लगायतले मतदान गर्नेछन् ।