धरान: मेयर तिलक राईले धरानलाई पर्यटन हबकोरुपमा विकास गर्न होम स्टे सँस्कृतिको विकास गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । 

विश्व पर्यटन दिवसको अवसरमा सोमबार पर्यटन कार्यालय धरानले आयोजना गरेको अन्तरक्रियामा प्रमुख अतिथि रहेका मेयर राईले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले छिमेकी मुलुक भारतको विहार राज्यका पर्यटकहरुलाई पनि लक्षित गर्दै धरान र आसपासका पहाडी क्षेत्रमा होम स्टे अवधारणामा पर्यटन प्रर्वद्धन र विकास आवश्यक भएको बताए । होम स्टे सँस्कृतिको विकास गरेर आन्तरिकसँगै भारतीय पर्यटकहरुलाई एक दिन धरानमा राख्ने गरि प्याकेज बनाउनुपर्ने मेयर राईको भनाई थियो । 

मेयर राईका अनुसार भारतीय पर्यटकहरुलाई धरान र आसपासको प्राकृतिक सौन्दर्य भएका डाँडाहरुमा पदयात्रा गर्न लैजानुपर्छ । जसले गर्दा ती भारतीय पर्यटकहरु प्रकृतिसँग रमाउछन् भने एक रात धरानमा बास बस्नेछन् । यसको लागि होम स्टे अवधारणामा प्याकेज तयार गर्नुपर्ने मेयर राईको सुझाव थियो । पछिल्लो समय पर्यटकीयस्थल भेडेटार, नाम्जेलगायत महंगो हुदै गएको कारण पनि विकल्पकोरुपमा होम स्टेमा पर्यटकहरुको आकर्षण बढ्ने मेयर राईको भनाई थियो । 

मेयर राईले पर्यटन व्यवासायीहरुबीचमा पनि सहकार्य र समन्वयको खाँचो रहेको औल्याए । उनले प्याराग्लाइडिङ गर्न आउने पर्यटकलाई र्याफ्टिङ गर्न, साइक्लिङ गर्न र होम स्टेमा बस्न प्रेरित गर्नुपर्ने र अन्यले पनि त्यसरी नै पर्यटकहरुलाई प्रेरित गर्नुपर्ने बताए । धरानलाई शिक्षा, स्वास्थ्य, धार्मिकसँगैसँगै साहसिक खेल पर्यटनमा पनि अघि बढाउनुपर्ने मेयर तिलक राईले बताएका छन् । मेयर राईले धरानमा प्याराग्लाईडिङ, र्याफटिङ, साईक्लिङ लगायत साहसिक खेलहरुलाई पनि पर्यटनको रुपमा विकास गर्नुपर्ने र एकअर्कामा सहकार्य तथा समन्वय गर्नुपर्ने बताए । 

tou

पर्यटन कार्यालय धरानका प्रमुख जितेन्द्र राईले कोसी करिडोरसँग जोडिएका जिल्लाहरुको लागि पर्यटन पुर्वाधारबाहेकका पर्यटन व्यवासायसँग सम्बन्धित प्रशासनिक सेवाहरु धरानबाट प्रवाह हुने बताए । उनले धरानमा पर्यटन प्रवद्र्धन गर्नका लागि सहकार्य गरेर अघि बढ्ने बताए । धरान उपमहानगरपालिकाको पर्यटन समितिका सहसंयोजक मदन ढकालले धरानको मूख्य प्रवेशद्धार तिनकुनेमा सुचना केन्द्र बनाउन आवश्यक रहेको बताए । उनले सुचना केन्द्र निर्माण गर्न सकेमा धरानको पर्यटन क्षेत्रलाई माथि उठाउनका लागि ठूलो भूमिका खेल्ने धारणा राखे ।

सुनसरी उद्योग वाणिज्य संघ पर्यटन प्रवद्र्धन समितिका सदस्य एलिना मगरले कोरोनाले पर्यटन क्षेत्रलाई सिथिल बनाएको बताइन् । प्रदेश वन निर्देशनालय धरानका प्रमुख निर्देशक रविन्द्र महर्जनले राजमार्ग आसपासका सिमसार क्षेत्रहरुमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने काम भईरहेको बताए । नाम्जे होम स्टे व्यवस्थापन समितिका अध्यक्ष एवं होम स्टे एशोसिएसन केन्द्रिय सदस्य अनिल राना मगरले प्रदेश एकमा ९८ वटा सामुदायिक होम स्टे र २२ वटा निजी होम स्टे रहेको जानकारी दिए । उनले कोभिड १९ को कारण पर्यटन सम्बन्धि गतिविधि गर्न नपाएको बताए । साथै उनले स्वास्थ्य प्रोटोकलको पालना गर्दै असोज १ गतेदेखि ईलामको श्री अन्तु र धनकुटाको नाम्जे थुम्की होम स्टे सञ्चालन गरिएको बताए । हाल दैनिक ५० देखि १ सयको हाराहारीमा पर्यटकहरु होम स्टेमा बस्न आउन थालेको पनि जानकारी दिए ।