धरान: धरान १८ मा बसोबास गर्दै आइरहेका कानुन व्यवसायी उद्धव राईले आफ्नो बाल्यकालमा देवा (बडा बा) कात्तिके माइलाबाट धेरै उखान टुक्काहरु सुनेका थिए । उनका देवा सभा कचहरीहरुमा सान्दर्भिक उखान टुक्का, श्लोक, चुटकिलाहरु पस्केर आफ्नो कुरा राख्थे ।

पछिल्लो समय नेपाली राजनीतिको केन्द्रमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पनि उखान टुक्कासहितको भाषणले चर्चामा रहिरहे । प्रधानमन्त्री हुँदा होस वा नहुँदा, उनको उखान टुक्कासहितको अभिव्यक्तिले आम नेपालीमा चर्चा र प्रभाव पारिरह्यो । तिनै मध्ये एक धरानका हुन्, उद्धव राई । आफ्नो देवा र प्रधानमन्त्रीको उखान टुक्काबाट प्रभावित भएका राईले जनजीब्रोमा झुण्डिएको उखान टुक्काहरु संकलन गर्न थाले । अन्तत ः अहिले उनको प्रयासले मुर्तरुप लिएको छ । 

udhav1

करिब २ हजार हाराहारीमा राईले संकलन गरेको उखान टुक्का भरिएको पुस्तकको नाम हो, उन्नतले गुनेको, उद्धवले तुनेको ‘उखान टुक्क’ । यो पुस्तक शनिबार धरान रिडर्स ग्रुपले धरान १८ स्थित माउण्ट हर्मोन एकेडेमीको हलमा सार्वजनिक भएको छ । संकलक राईका अनुसार बडाको उखान टुक्कासहितको कुरा गर्ने शैलीले उनलाई निक्कै प्रभाव पारेको थियो । पछिल्लो समय प्रधामन्त्री हुँदा केपी शर्मा ओलीको पनि उखान टुक्कासहित भाषण शैलीबाट प्रभावित भएपछि संकलन गर्ने उत्प्रेरणा मिलेको राईले बताए । ‘देवा उखान टुक्का हालेर कुरा गर्नुहुन्थ्यो, त्यसले मलाई एकदमै प्रभावित पारेको थियो,’उनले भने,‘प्रधानमन्त्री हुदा केपी शर्मा ओलीले पनि उखान टुक्का धेरै प्रयोग गर्नुहुन्थ्यो, त्यसले पनि मलाई प्रभावित बनायो, र संकलन गर्न थाले ।’

udhav2

संकलन गर्न थालेपछि उनी जहाँ जहाँ पुग्थे, उखान टुक्का सुन्दा उनी मोवाइलमा टिपोट गरिहाल्थे । साथीभाईहरुसँग चिया पिउदा, रेडियो सुन्दा होस वा टेलिभिजन हेर्दा होस्, उखान टुक्का सुनेमा उनी टिपिहाल्थे । ‘झण्डै २ हजार हाराहारीमा संकलन भएको छ, यो क्रम अझै जारी रहन्छ,’राईले भने ।

पुस्तकमाथि चर्चा गर्दै प्रा.डा.गोपाल भण्डारीले उखान टुक्काहरु लोकसाहित्य भएको बताए । पुर्खाहरुले अनुभवको आधारमा आफ्नै भाषा शैलीमा उखान टुक्काहरु राखिदिएको डा.भण्डारीले बताए । ‘लोकसाहित्य अलिखित साहित्य हो । श्रुती परम्पराबाट पुस्ता पुस्तामा सर्दै आएको हो,’उनले भने,‘जनजिब्रोको भाषा संकलन गरेर पुस्तककोरुप दिनुभएको छ, यो मेहनतपुर्ण काम हो ।’ उपप्राध्यापक एवं साहित्यकार राजेश विद्रोहीले संकलकले धेरै मेहनत गरेको बताए । उनले भने,‘हाम्रा पिता, पुर्खाहरुले उखान टुक्का खुब प्रयोग गर्नुहुन्थ्यो, अहिलेका नयाँ पुस्ताले जान्दैनन् । उनीहरुको लागि यो पुस्तक अत्यन्तै उपयोगी हुन्छ।’

udhav3

udhav4