धरान: निरन्तरको बर्षाले नेपाल विद्युत प्राधिकरणको दुहबी ग्रिड जलमग्न भएपछि हिजो रातीदेखि विद्युत अवरुद्ध छ । 

पानीको सतह घटाउने प्रयास भइरहे पनि विद्युत सुचारु हुन कति समय भन्ने यकिन छैन । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार ग्रिडमा जमेको पानी घटाउने कार्य भइरहेको छ । ‘पानीको लेबल घटेपछि मात्र विद्युत सुचारु हुन्छ, पानी निकासको कार्य भइरहेको छ,’प्रजिअ यादवले भने ।

यता, विद्युत प्राधिकरणको धरान वितरण केन्द्र प्रमुख साजन मर्हजनले भने विद्युत सुचारु हुन निक्कै समय लाग्ने बताए । उनका अनुसार ग्रिडमा जम्मा भएको पानी फाल्ने कार्य भइरहेको छ । पानी निकास भएपनि भिजेका मेशिन, उपकरणहरु सबै सुकाएपछि मात्र विद्युत सुचारु गरिने उनले बताए । ‘पानी फाल्ने काम भइरहेको छ, भिजेको सामानहरु पनि सुकाउनुपर्छ । रातीसम्म विजुली आउला कि ! हेरौ के हुन्छ,’उनले भने ।