विराटनगर: प्रदेश नं १ मा बेमौसमी झरीको करण तीन दिन यता बाढी पहिरोबाट ६२ जनाको मृत्यु भएको छ । 

१ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी पहिरोबाट २० जना घाईते भएका छन् भने १३ जना बेपता भएका छन् । सयौ घर डुवानमा परेका छन् । सबै भन्दा बढी पाँचथर जिल्लामा मानवीय क्षति भएको प्रहरीले जनाएको छ । पाँचथरमा मात्र बाढी पहिरोबाट २८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, पाँचथरमा १० जना घाईते र ६ जना बेपत्ता भएका छन् । पाँचथरमा मृत्य, घाइते र वेपत्ता हुनेहरु कुम्मायक गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाका हुन् । 

यसैगरी ईलाम जिल्लाको फाकफोकथुम गाउँपालिका, सुर्योदय नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा बाढी पहिरोको कारण १४ जनाको मृत्यु भएको छ भने ५ जना घाईते छन् । यस्तै, १ जना बेपत्ता भएका छन् । यता, धनकुटाको चौबिसे गाउँपालिकामा बाढी पहिरोबाट ७ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । 

4

सुनसरीको धरान उपमहानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा बाढी पहिरोको कारण ८ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । मोरङको बिराटनगर महानगरपालिका १२ मा १ जनाको मृत्यु भएको छ । भोजपुरको राम प्रसास राई गाउँपालिका ६ मा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ भने उदयपुरको त्रियुगा नगरपालिका र उदयपुर गढी गाऊपालिकामा बाढीका कारण १-१ जनाको मृत्यु भएको छ। 

बेमौसमी झरीका कारण सयौ घर डुबानमा परेका छन् । प्रहरीका अनुसार ४ हजार भन्दा बढी मानिसहरु बिस्थापित भएका छन् । डुवान भएको क्षेत्रमा सुरक्षाकर्मी परिचालन भई बिस्थापित भएका मानिसहरुलाई सुरक्षित स्थान तर्फ स्थानान्तरण गर्ने कार्य भईरहेको छ । हाल सम्म १ नम्बर प्रदेश भरी ५ हजार ९५ जना प्रहरी उद्दार कार्यमा परिचालन भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अन्य प्रहरीहरु पनि तयारी अबस्थामा रहेका छन् ।