धरान: नेकपा एमाले धरान उपमहानगर कमिटीको विवाद मत्थर हुनुको साटो झन् बढ्दै गएको छ । 

वडा अधिवेशनको क्रममा ६ वटा वडाहरुमा अलग अलग कमिटी गठन गरेर विवाद कायमै राखेका एमालेका नेताहरुले भोली हुने नगर अधिवेशन पनि अलग अलगै गर्ने तयारीमा छन् । एमालेको पालिका तहको अधिवेशन कार्तिक ९ गते देशैभर एकसाथ उद्घाटन हुदैछ । धरानमा संस्थापन पक्ष र जेठ २ अघिको कमिटीका नेताहरुबीच तीब्र मतभेद तथा विवाद छ । वडा अधिवेशनको क्रममा धरानको १, ५, ८, १०, ११ र १७ नम्बर वडामा दुवै पक्षले अलग अलग कमिटी गठन गरेका छन् ।

संस्थापन पक्षले धरान १० स्थित सैनिक भवनमा नगर अधिवेशन उद्घाटनको तयारी गरेको छ भने जेठ २ अघिको कमिटीले धरान १५ स्थित होटल इजी राइडरमा तयारी गरेको छ । दुवै पक्षका नेता, कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्फत दुवै स्थानको कार्यक्रमको लागि निमन्त्रणा पत्र सेयर गरिरहेका छन् । एमालेकै नेता, कार्यकर्ताहरुले भने नेताहरु नमिलेर एउटै पार्टीको अधिवेशन २ ठाउँमा गर्न लागेको प्रति आक्रोश पनि पोखिरहेका छन् । 

धरान प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्य र प्रदेश सभामुख प्रदिप भण्डारी निवार्चित भएको क्षेत्र हो । धरान सुनसरी क्षेत्र नं १ को प्रदेश सभा क र ख बाट आर्चाय र भण्डारी निर्वाचत भएका हुन् । यहाँको विवाद समाधान गर्न चासो नदेखाएको भन्दै धरानका नेता, कार्यकर्ताहरु सामाजिक सञ्जालमा आक्रोश पनि व्यक्त भइरहेको छ। 

अध्यक्षमा बार्गेनिङ

दुवै पक्षले अलग अलग अधिवेशनको तयारी गरेपनि नेताहरुबीचमा छलफल पनि जारी छ । एकै ठाउँमा मिलेर अधिवेशन नगरे स्थानीय नेता, कार्यकर्ताहरुको मनोवल खस्कने र पार्टीलाई पनि क्षति हुने भन्दै नेताहरु यहाँको विवाद मिलाउन दौडधुपमा छन् । 

लालकिल्ला भनिने धरानमा गएको उपनिर्वाचनमा कांग्रेसले जितेपछि कम्युनिष्टहरु कमजोर भएको सन्देश दिइसकेको छ । अहिलेको एमाले विवाद मत्थर नभए नजिकिदै गरेको स्थानीय तहको निर्वाचनमा धक्का व्यहोर्नुपर्ने एमालेकै नेताहरु बताउने गरेका छन् । अहिलेको विवादको मुल चुरो धरान उपमहानगर कमिटीको अध्यक्षको बार्गेनिङ भएको एमालेका एक नेताले बताए । संस्थापन पक्षका ती नेताले भने,‘जेठ २ भन्ने साथीहरुले अध्यक्ष पद खोजीरहनु भएकोछ । नेताहरु लागि रहेका छन्, भोलीसम्म कार्यक्रम एकै ठाउँमा हुनपनि सक्छ ।’