धरान: हङकङमा पत्रकारिता गरिरहेका किसन राईको भीरबाट खसेर खोटाङमा मृत्यु भएको छ । 

खोटाङका डिएसपी उमेश लम्सालका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ स्थित पंखु खोला भीरबाट पत्रकार राई खसेका हुन् । घटनास्थल सदरमुकाम दिक्तेलबाट ८, ९ किलोमिटर टाढा पर्छ । ‘नयाँ ठाउँ भएर भेउ पाउनु भएन होला, भीरबाट खस्नु भएछ,’ डिएसपी लम्सालले भने । डिएसपी लम्सालका अनुसार मृतक पत्रकार राईसहित ४ जना साथीहरु प्राइभेट गाडीमा यात्रा गरिरहेका थिए । उनले भने,‘शव हस्पिटलमा राखेका छौ । थप अनुसन्धान हुदैछ । आफन्त पनि झिकाएका छौ।’

घटना करिब ५ बजे तिरको हो तर प्रहरीलाई ७ बजेतिर खबर भएको थियो । घटनाबारे जानकारी पाएपछि इन्स्पेक्टरको टोली गएको थियो । प्रहरीले घटनास्थलबाट मृतक राईको शव आज बिहान २ बजे मात्र जिल्ला सदरमुकाम ल्याएको पनि खोटाङका पत्रकार दमन राईले जानकारी दिए । मृतक पत्रकार राई केही दिनअघि हङकङबाट नेपाल आएका थिए । उनी पश्चिम नेपाल भ्रमण गरेर खोटाङ हुदै भोजपुरतर्फ आउने क्रममा यो घटना भएको हो । 

धरान १५ निवासी राई धरानमा अध्ययन गर्दा अखिलको राजनीतिमा थिए । धरानमा रहदा ज्ञानोदय बोर्डिङ स्कुल पनि सञ्चालन गरेका राई हङकङ गएपछि दुई दशकदेखि नेपाली भाषाको पत्रिका एभरेष्ट साप्ताहिक प्रकाशन, सम्पादन गरिरहेका थिए । यो पत्रिका विदेशी भुमिबाट लामो समय प्रकाशन हुने एक मात्र पत्रिका हो । हालै मात्र उनलाई हङकङ सरकारले सम्मान गरेको थियो । मृतक राई नेपाल पत्रकार महासंघ हङकङको अध्यक्ष, नेपाल आदिबासी जनजाति महासंघ हङकङको अध्यक्ष, एनआरएनए हङकङको उपाध्यक्षलगायत संघसंस्थाहरुको नेतृत्वदायी भुमिका पनि निर्वाह गरेका थिए ।