धरान: नेकपा एमालेको आज देशभर पालिका अधिवेशन हुदैछ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले भच्र्युअलरुपमा अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । देशभर एमालेमा पालिका अधिवेशनको उत्साह छाइरहदा धरानमा भने नेता, कार्यकर्ताहरुमा अपेक्षाकृत उमंग छैन । एमाले धरानका नेताहरु दुई समुहमा विभाजित भएर अधिवेशन पनि दुई तिर गर्ने तयारीले कार्यकर्ताहरुमा निराशा छाएको छ । 

यसैबीच, एमाले धरानको विवाद मिलाउन दुवै पक्षका प्रदेश र जिल्ला कमिटीका नेताहरु आज पनि वार्तामा बसेका छन् । हिजो पनि नेताहरुबीच पहिलो चरणको वार्ता भए पनि निष्कर्षमा पुग्न सकेका थिएनन् । आज बिहान ७ बजे वार्ता बस्ने भनिए पनि २ घण्टा ढिला गरि अहिले वार्ता शुरु भएको छ । धरानमा संस्थापन पक्ष र जेठ २ अघिको कमिटीका नेताहरुबीच विवाद छ । 

एमाले प्रदेश कमिटीका सदस्य डम्बर गुरुङले वार्ता शुरु हुन लागेको जानकारी दिए । आवश्यक तयारी गर्नुपरेकोले केही ढिला भएको उनले बताए । जेठ २ कमिटीका नेता प्रकाश राईले संस्थापन भनिएको समुहले लचकता अपनाए सहमति हुने बताए । ‘सम्भावना देखिन्छ, हामीले विधिको कुरा गरेका छौ, उहाँहरुले लचकता अपनाउनुपर्छ,’उनले भने ।