धरान: नेकपा एमाले धरानको विवाद मिलाउन दुवै समुहका नेताहरुबीच भएको वार्तामा सहमति जुटाउन असफल भएको छ । 

वार्तामा सहमति हुन नसकेपछि एमाले धरानको अधिवेशन दुवै समुहको दुई तिर हुने निश्चित भएको छ । वार्तामा सहभागी एमाले प्रदेश कमिटीका सदस्य डम्बर गुरुङले वार्तामा कुरा नमिलेको कारण दुवै तिर आ आफ्नो तरिकाले अधिवेशन उद्घाटन हुने बताए । एमाले धरानको संस्थापन पक्षको अधिवेशन धरान १० स्थित सैनिक भवनमा तयारी छ भने जेठ २ पक्षको कमिटीको अधिवेशन धरान १५ स्थित होटल इजी राइडरमा तयारी छ । 

संस्थापन पक्षबाट संयुक्तरुपमा उद्घाटन गर्ने र केही दिनको समय राखेर प्रतिनिधि, नेतृत्वबारे टुंगाएर जाने प्रस्ताव गरे पनि अर्को पक्षले नमाने पछि सहमति हुन नसकेको उनले बताए । ‘उहाँहरुले प्याकेजमै वडा र नगरको नेतृत्वबारे सहमति गरौ भन्ने कुरा गर्नुभयो, हामीले समय अपुग भयो, संयुक्त उद्घाटन सत्र गरौं, र दुई तिन दिनको समय लगाएर प्रतिनिधि र नेतृत्व टुंगाऔं भन्यौ, तर उहाँहरु मान्नु भएन,’उनले भने ।