धरान: नेकपा एमाले धरान उपमहानगर कमिटीको संस्थापन पक्षको अधिवेशनको बन्द सत्र दोस्रो दिन आज जारी छ । 

धरान १० स्थित सैनिक भवनमा जारी बन्द सत्रमा आज सांगठनिक तथा राजनैतिक प्रतिवेदन र आर्थिक प्रतिवेदनमाथि छलफल भएर पारित भएको छ । प्रतिवेदनमाथि समुह समुह बनाएर छलफल भएर पारित भएको नेताहरुले बताएका छन् । बन्द सत्रको अध्यक्ष मण्डलका अध्यक्ष मोतिराज सुनुवारले प्रतिवेदनहरु छलफल गरि पारित भएको र सहमतिका साथ निर्वाचन प्रक्रिया शुरु हुन लागेको जानकारी दिए । उनले भने,‘प्रतिवेदनमाथि छलफल भएर पारित भइसक्यो, अब सहमतिका साथ निर्वाचन प्रक्रियामा जादैछौ ।’

देशभर एकसाथ एमालेको पालिका अधिवेशन हिजो शुरु भएको थियो । धरानमा सहमति हुन नसकेपछि दुई पक्षको अलग अलग अधिवेशन भएको थियो । संस्थापन पक्षले सैनिक भवनमा आयोजना गरेको थियो भने जेठ २ कमिटीले इजी राइडर होटलमा गरेको थियो । जेठ २ कमिटीको अधिवेशनले नारायण सुवेदीको अध्यक्षतामा ८५ सदस्यीय कमिटी हिजो नै सर्वसम्मत चयन गरिसकेको छ । 

uml-dharan1

संस्थापन पक्षले भने हिजो बन्द सत्रमा राजनैतिक प्रतिवेदन प्रस्तुत भएपछि स्थगित गरेको थियो । प्रतिवेदनमाथि आज छलफल गरेर पारित भएपछि अहिले नेतृत्व चयन प्रक्रिया शुरु भएको हो । धरानमा संस्थापन पक्ष र जेठ २ अघिको कमिटीका नेताहरुबीच सहमति हुन नसक्दा २ तिर अधिवेशन भएको हो । नगर अधिवेशन एकै ठाउँमा आयोजना गर्न दुवै पक्षका प्रदेश र जिल्ला कमिटी तहका नेताहरुबीच २ दिन छलफल भएपनि सहमति हुन सकेन । यसअघि वडा अधिवेशनको क्रममा पनि यी दुवै पक्षबीच विवाद भएको थियो । यद्यपी, १४ वटा वडाहरुमा मिलेर एकै ठाउँमा अधिवेशन भएपनि ६ वटा वडामा भने अलग अलग कमिटी गठन भएको छ । 

uml-dharan2

गत बर्ष पार्टी अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि प्रतिगमन भन्दै तत्कालिन धरान कमिटीको नेतृत्व आन्दोलनमा उत्रिएका थियो । धरानको एमाले माधव नेपाल पक्ष हावी थियो । नारायण सुवेदी अध्यक्ष रहेको उक्त कमिटी आन्दोलित भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले हर्कजंग एभेङको अध्यक्षतामा एमाले नगर कमिटी गठन गरेको थियो । संस्थापन पक्षको सोही कमिटीले पार्टी कार्यालयबाट एमालेको गतिविधि सञ्चालन गर्दै आएको छ भने जेठ २ अघिको कमिटीका नेताहरु पछिल्लो समय पार्टी कार्यालय जानै छोडेको छ ।