धरान: नेकपा एमाले धरानको संस्थापन पक्षको अधिवेशनस्थलमा युवाहरुले कुर्सी तोडफोड गरेका छन् भने केही समय मुलगेट बन्द गरेर नेताहरुलाई बाहिरिनबाट रोकेका थिए । 

धरान १० स्थित सैनिक भवनमा जारी अधिवेशनको उद्घाटन सत्र सकेपछि नेताहरुले बन्दसत्र स्थगित गर्न खोजेको भन्दै युवाहरु आक्रोशित भएका थिए । उनीहरुले बन्दसत्र तत्काल शुरु गर्नुपर्ने माग गर्दै नाराबाजी गरेका थिए भने केही युवाहरुले कार्यक्रमस्थलको कुर्सी उचालेर पछारेका थिए । सोही क्रममा केही थान कुर्सी भाँचिन पुगेको हो । 

दुई पक्षको अधिवेशनको उद्घाटन सत्र अलग अलग भएपनि नेताहरुले नेतृत्व चयन अघि बन्द सत्र रोकेर अर्को जेठ २ कमिटीको समुहसँग छलफल गर्न चाहेका थिए । तर युवाहरुले भने बन्दसत्र जारी गर्नुपर्न माग गर्दै विरोधमा उत्रिएका थिए । उक्त घटना पश्चात नेताहरुले युवाहरुसँग छलफल गरेर बन्दसत्र शुरु गरिसकेको एक नेताले जानकारी दिए ।