धरान:  प्रदेश नं १ मा मुख्यमन्त्रीबाट एमाले नेता भीम आचार्यले राजिनामा गरेलगत्तै विपक्षी गठबन्धनमा रहेका दलहरु नयाँ सरकार गठनको लागि दाबी प्रस्तुत गरेका छन् ।

मुख्यमन्त्री आचार्यको राजिनामालगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ को उपधारा २ वमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेश सभा सदस्यलाई मंगलबार दिउँसो १ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए । कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा संविधानले नयाँ सरकार गठनको लागि यो व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार प्रदेश प्रमुखले आह्वान गरेपछि सोमबार नै गठबन्धनमा रहेका दलहरुले मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रकुमार राईलाई नियुक्त गर्न समर्थन र हस्ताक्षरसहित नयाँ सरकार गठनको दाबी पेश गरेका छन् ।

मुख्यमन्त्री बन्न लागेका सांसद राई भोजपुरबाट निवार्चित भएका हुन् । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय अध्यक्षसमेत भइसकेका नेता राई माधव कुमार नेपाल निकट थिए । एमाले विभाजन भएसँगै उनी माधव नेपाल अध्यक्ष रहेको नेकपा एसमा गएका छन् । प्रदेश १ मा नेकपा एसले मुख्यमन्त्री पाउने गठबन्धनको शीर्ष नेताहरुबीच भएको सहमति अनुसार राई प्रदेश १ को तेस्रो मुख्यमन्त्री बन्न लागेका हुन् । उनी नेकपा एसको संसदीय दलको नेता हुन् । प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नभएपछि मुख्यमन्त्री पदबाट भीम आचार्यले राजिनामा दिएसँगै राईलाई नयाँ मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

सरकार गठनको लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गरि ५ दलहरुले दाबी प्रस्तुत गरेको हो । यो गठबन्धनमा ५० जना सांसदहरु रहे पनि सोमबार दाबी प्रस्तुत गर्दा ४९ जना सांसदहरुको मात्र हस्ताक्षर रहेको छ । नेकपा माओवादी केन्द्रकी सांसद एवं उपसभामुख सरस्वती पोख्रेल मातृशोकको कारण काठमाण्डौंमा भएकोले दाबी प्रस्तुत गर्दा उनको हस्ताक्षर छुटेको हो।