मोरङ:  मोरङको सुन्दरहरैंचामा राष्ट्रियस्तरका कलाकारहरुको सहभागीतामा सिद्धार्थ सांगीतिक कार्यक्रम हुने भएको छ । 

सुन्दरहरैंचा ६ स्थित सिद्धार्थ युवा क्लबको आयोजनामा यही कार्तिक २९ गते सांगीति कार्यक्रम हुने भएको हो । आयोजक क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै तिहार छठ लगायतका पर्वहरुको अवसर पारेर मनोरञ्जनात्मक कार्यक्रम गर्न लागेको जनाएको छ । बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा अपरान्ह ४ बजेसम्म खुल्ला नृत्य प्रतियोगिता सञ्चालन हुने सुन्दरहरैंचा ६ का वडा सदस्य तथा कार्यक्रम संयोजक डम्बर थापा मगरले जानकारी दिए ।  नेपाली लोक सँस्कृति झल्कने गीतमा सामुहिक नृत्यहरुबीच प्रतिस्पर्धा गराइने पनि उनले बताए । 

यसैगरि साँझ ६ बजेदेखि हुने साँस्कृतिक कार्यक्रममा चर्चित हाँस्य श्रृंखला सक्किगोनीका मुख्य पात्रहरु अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीको हाँस्य प्रस्तुती रहने आयोजकले जनाएको छ । यसैगरि, चर्चित गायिका एलिना चौहान र स्थानीय कलाकारहरुको गीत तथा नृत्यहरुको प्रस्तुति पनि रहनेछ । हाल कोरोना संक्रमण निकै कम भएकोले कोरोनाको त्रास भुलाएर विशुद्ध मनोरञ्जन दिलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संयोजक थापा मगरले बताए । कार्यक्रममा ८ लाख खर्च हुने र सो रकम स्थानीयबासी स्वयमले स्वतःस्फुर्तरुपमा संकलन गरेको पनि उनको भनाई छ । कार्यक्रममा सुन्दरहरैंचा, इटहरी, केराबारी लगायत क्षेत्रका गरि ७ हजार भन्दा बढी दर्शकको सहभागित हुने आयोजकको अपेक्षा छ ।