धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं १ को सभापति पदमा धरानका मेयर तिलक राई औपचारिकरुपमा देउवा समुहको उम्मेदवारकोरुपमा अघि सरेका छन् ।

केही दिनदेखि मेयर राई देउवा समुहबाट सभापतिमा उम्मेदवार बन्ने चर्चा थियो । देउवा समुहकै नेता किशोर राईको असहमति हुँदा हुदै पनि सोही टिमले राईलाई क्षेत्रीय सभापतिमा उम्मेदवारकोरुपमा अघि बढाएको हो । यसअघि भने मेयर राई कांग्रेस नेता रामचन्द्र पौडेल शेखर कोइराला टिममा थिए । शनिबार औपचारिकरुपमा देउवा समुहले धरान १२ स्थित अमान बजारस्थित चुनाव प्रचारप्रसार कार्यालयमा कार्यक्रम गर्दै सभापतिमा मेयर राईलाई अघि सारेको नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ का सहसचिवसमेत रहेका नेता प्रेमकुमार राईले जानकारी दिए । ‘तिलक दाई आजदेखि औपचारिकरुपमा देउवा समुहको उम्मेदवार हुनुभयो, कार्यक्रम गरेर नै घोषणा भएको छ,’उनले भने । 

congress2

यसअघि देउवा समुहबाट क्षेत्रीय सभापतिमा अघि सारिएका उम्मेदवार पुर्ण सुवेदीले पनि राईलाई समर्थन गरेको उनले जानकारी दिए । साथै, यो समुहले सुनसरी क्षेत्र नं १ प्रदेशसभा (क)को सभातिमा मदन ढकाल र प्रदेशसभा (ख)को सभापतिमा अजय राईलाई उम्मेदवारकोरुपमा अघि सारेको छ । अमान बजारको कार्यक्रम सकेर देउवा समुहले मेयर राईसहितको टोली वडा नं २० मा पुगेर क्षेत्रीय प्रतिनिधिहरुसँग भेटघाट कार्यक्रम पनि गरेको उनले जानकारी दिए । मेयर राईलाई देउवा समुहबाट क्षेत्रीय सभापतिमा उम्मेदवार बनाएकोमा गएको नगर अधिवेशनमा नगर सभापतिमा पराजित नेता किशोर राई भने असन्तुष्ट छन् । उनलाई पनि सहमतिमा ल्याउने प्रयास भइरहेको सहसचिव राईले जानकारी दिए । 

सभापतिमा सुजेन्द्र तामाङसँग प्रतिस्पर्धा

congress1

क्षेत्रीय सभापतिमा मेयर तिलक राईको नेता रामचन्द्र पौडेल शेखर कोइराला समुहका उम्मेदवार सुजेन्द्र गोले तामाङसँग प्रतिस्पर्धा हुने भएको छ । पौडेल कोइराला समुहले क्षेत्र नं १ को सभापतिमा तामाङलाई अघि सारेर चुनाव प्रचारप्रसार अभियान थालिसकेको छ । 

यो समुहबाट क्षेत्र नं १ प्रदेशसभा (क) को सभापतिमा अनिल श्रेष्ठ र (ख) को सभापतिमा मुरारी भट्टराईलाई उम्मेदवारकोरुपमा अघि सारेको छ । सभापतिका उम्मेदवार तामाङ भने टिमभित्र विगतमा गरेको सहमति विपरीत मेयर राई पदको लागि अर्को समुहका गएको बताउँछन् । उनले भने,‘मलाई सभापति बनाउने सहमति हो, तर उहाँ पदको लागि अर्को खेमातिर जानुभयो ।’

किशोर राई र उम्मेदवार तामाङबीच भेट

congress3

पौडेल कोइराला समुहका सभापति उम्मेदवार तामाङ र देउवा समुहका नेता किशोर राईबीच शनिबार एक कार्यक्रममा भेट भएको छ । उम्मेदवार तामाङ अन्य दुई उम्मेदवार अनिल श्रेष्ठ र मुरारी भट्टराईसहित वडा नं १२ का मतदाता एवं क्षेत्रीय प्रतिनिधिहरुसँग भेटघाट तथा परिचय कार्यक्रमको लागि उक्त वडामा पुगेका थिए । सोही क्रममा देउवा समुहका नेता राईसँग उनको भेट भएको हो । 

उक्त कार्यक्रममा राईले क्षेत्रीय सभापतिमा तामाङलाई जितको लागि शुभकामना पनि दिएका थिए । यस्तै, सभापतिका उम्मेदवार तामाङले पनि राईलाई मेयरको लागि योग्य नेता भएको धारणा राख्दै पार्टीले मुल्यांकन गर्नुपर्ने बताएका थिए ।

भिडियो: