धरान: नेपाली कांग्रेस क्षेत्र नं १ कार्यसमितिको निर्वाचनमा संस्थापन (देउवा) समुहबाट सभापतिका उम्मेदवार तिलक राईले साथीभाईहरुको सल्लाह, सुझाव अनुसार आफुले उम्मेदवारी नदिने निर्णयमा पुगेको बताएका छन् । 

धरानका मेयरसमेत रहेका नेता राईले क्लिकधरानसँग मोवाइल सम्पर्कमा आफु देउवा समुहको समर्थनमा सभापतिमा उम्मेदवारी दिने तयारी गरेपनि प्रतिकुल परिस्थिति भएकोले साथीभाईकै सल्लाह, सुझाव अनुसार पछि हटेको बताए । उनले नगर कमिटी, प्रदेशसभाको निर्वाचन, वडा समिति सबै आफ्नै टिम भएको र सबैबाट उम्मेदवारी नदिन सुझाव आएको पनि बताए । ‘मैले उहाँहरु (देउवा समुह)को समर्थन पाएको थिएँ, पुर्ण दाईले पनि मलाई सघाउनु भयो,’राईले भने,‘म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु । निर्वाचनमा गइसके पछि आन्तरिक समस्या हुने भयो, तपाई जनप्रतिनिधि जस्तो मान्छे, सबैलाई मिलाउनुपर्छ, चुनाव नलडेको राम्रो भन्ने सुझाव आयो, र म उम्मेदवारी नदिन मनस्थितिमा पुगेँ ।’

संस्थापन इतर पौडेल कोइराला समुहका नेता राई धरानको नगर अधिवेशन सम्पन्न भएपछि क्षेत्रीय सभापतिका आंकाक्षी थिए । तर, क्षेत्रीय सभापतिम आफ्नो समुहले सुजेन्द्र तामाङलाई उम्मेद्वारकोरुपमा अघि बढाएपछि राई र तत्कालिन क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ देउवा समुहतिर लागेका थिए । देउवा समुहबाट आधिकारिकरुपमा क्षेत्र नं १ को सभापति उम्मेदवार बनेर मतसमेत मागिरहेका राई प्रदेशसभा क्षेत्रको निर्वाचन मतरिणाम पछि भने उम्मेद्वार हुन हच्चिएका हुन् । प्रदेशसभा १(१) र प्रदेशसभा १(२) मा प्यानलै पौडेल कोइराला समुहको जित भएको छ ।