धरान: नेकपा माओवादी केन्द्र धरान उपमहानगर कमिटीको दोस्रो नगर सम्मेलन स्थगित भएको छ । 

बन्द सत्रमा उम्मेद्वारी मनोनयन पश्चात शनिबार राती अर्को सुचना नभएसम्मको लागी स्थगित गरेको हो । धरान १५ स्थित होटल इजी राइडरमा जारी सम्मेलनको बन्द सत्रमा ८१ जना कार्यसमिति सदस्यको लागी मनोनयन दर्ता भएको थियो । रात परेको कारण प्रतिनिधिहरुलाई गाह्रो भएको र आवश्यक तयारी गर्नुपर्ने भएकोले स्थगित गरिएको निर्वाचन समितिका प्रमुख केशव घिमिरेले जानकारी दिए ।

नगर अध्यक्ष सुर्दशन श्रेष्ठका अनुसार राती अबेर भएको, महिला र वृद्धवृद्धा प्रतिनिधिहरुलाई बस्न गाह्रो हुने भएको कारण बन्द सत्र स्थगित गर्नुपरेको हो । उनले भने,‘धरानको ग्रामिण क्षेत्रबाट पनि प्रतिनिधिहरु आउनु भएको छ । महिला, वृद्धवृद्धाहरुलाई गाह्रो हुने भयो । त्यसैले स्थगित गरिएको हो,’उनले भने,‘अलिक दिन पछि तयारी गरेर प्रतिनिधिहरुलाई पुनः बन्द सत्रको लागी सुचना जारी गछौं ।’

mao-banda

यो सम्मेलनबाट माओवादी केन्द्रको ८१ सदस्यीय उपमहानगर कमिटी चयन हुनेछ । नेतृत्व चयनको विधि भने अलि फरक छ । पहिलो चरणमा सबै प्रतिनिधिहरुबाट ८१ जना मात्र सदस्य छानिनेछन् । त्यसमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र ५ प्रतिशत अनिवार्य मुश्लिम हुनेछन् । छानिएका ८१ जनामध्येबाट मात्र अध्यक्षसहित ७ पदाधिकारीहरु छानिनेछन् । 

धरान सम्मेलनमा ४१० प्रतिनिधिहरु छन् । वडाबाट ३ सय जना, आयोजकका ३९ जना, जिल्ला समन्वय समितिका सदस्यहरु १० जना छन् । यस्तै, जिल्ला समन्वय समितिका  सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरु, नगरको विभागहरुहरुबाट मनोनित ४६ जना, धरानका सल्लाहकार र ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरु पनि प्रतिनिधि छन् ।