धरान: सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रको स्थानीय तहको सम्मेलन आज हुदैछ । धरान उपमहानगर कमिटीको दोस्रो सम्मेलन धरान १५ स्थित होटल इजी राइडरमा हुने तयारी छ । 

माओवादी केन्द्रले यसअघि वडा सम्मेलन देशभर एकैपटक गरेको थियो । सबै वडामा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । धरान सम्मेलनमा ४१० प्रतिनिधि सहभागी हुने अध्यक्ष सुर्दशन श्रेष्ठले जानकारी दिए । उनका अनुसार ती मध्ये वडाबाट ३ सय जना, आयोजकका ३९ जना, जिल्ला समन्वय समितिका सदस्यहरु १० जना हुनेछन् । यस्तै, जिल्ला समन्वय समितिका  सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरु, नगरको विभागहरुहरुबाट मनोनित ४६ जना, धरानका सल्लाहकार र ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरु पनि प्रतिनिधि हुनेछन् ।

सम्मेलनबाट ८१ सदस्यीय नेतृत्व चयन हुनेछन् । नेतृत्व चयनको विधि भने अलि फरक छ । पहिलो चरणमा सबै प्रतिनिधिहरुबाट ८१ जना मात्र सदस्य छानिनेछन् । त्यसमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र ५ प्रतिशत अनिवार्य मुश्लिम हुनेछन् । प्रतिनिधिहरुबाट छानिएका ८१ जनामध्येबाट पुनः पदाधिकारीहरु छानिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

अध्यक्षका आकांक्षी ४ जना

माओवादी केन्द्र धरान उपमहानगर कमिटीको नेतृत्व लिन ४ जना आकांक्षी देखिएका छन् । यद्यपी उनीहरुले सार्वजनिकरुपमा घोषणा भने गरिसकेका छैनन् । सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने केन्द्रीय सर्कुलर भएकोले पनि आकांक्षीहरु खुलिसकेका छैनन् ।

नेतृत्वको आकांक्षीमा हाल अधिवेशनसम्म अध्यक्षको जिम्मेवारी पाएका सर्दुशन श्रेष्ठ छन् । उनलाई जिल्ला समन्वय समितिले अधिवेशनसम्मको लागी एक साताअघि मात्र अध्यक्षको जिम्मेवारी दिएको थियो । पार्टीलाई आन्तरिक संघर्षबाट बचाउदै ल्याएको र अध्यक्षको जिम्मेवारी थोरै अधिको मात्र भएकोले एक कार्यकाल आफुले पाउनुपर्ने श्रेष्ठले बताए । उनले भने,‘अरु कमरेडहरु पनि हुनुहुन्छ, मेरो पनि दाबी हो, बन्दसत्रमा के हुन्छ ।’

श्रेष्ठबाहेक पुर्वअध्यक्ष फोक्वाहाङ सुब्बा(चोत्लुङ) पनि अध्यक्ष पदका आकांक्षी हुन् । एमालेसँग एकता हुनुअघि उनी नै अध्यक्ष थिए । यस्तै, युवा नेता उद्धव लिम्बू र धरान वडा नं १७ का वडा अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज) पनि अध्यक्षका आकांक्षी हुन् ।