धरान: नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् ।

चितवनमा जारी १० औं महाधिवेशनको बन्दसत्रमा सहमतिको प्रयास सफल हुन नसकेपछि अध्यक्ष मण्डलका अध्यक्ष ओलीले ३०१ सदस्यीय केन्द्रीय सदस्य र १९ सदस्यीय पदाधिकारीको नाम प्रस्ताव गरेका थिए । पदाधिकारीको प्रस्तावमा रावल, घनश्याम भुसाल र भीम आचार्य समेटिएको थिएन । रावल यसअघि उपाध्यक्ष थिए भने भुसाल उपमहासचिव र आचार्य केन्द्रीय सचिव थिए । माधव नेपालले पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गर्दा यी नेताहरुले १० बुँदे सहमति गरेर एमालेमै बसेका थिए ।

रावलले पुर्वघोषणा अनुसार नै अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् भने भुसालले उपाध्यक्ष र आचार्यले पनि पुनः सचिवमा उम्मेदवारी दर्ता गराएका छन् । सर्वसम्मत हुन नसकेपछि अध्यक्षसहित केही पदाधिकारीहरुमा चुनाव हुने निश्चित भएको छ भने केन्द्रीय सदस्यहरुको पनि आकांक्षी बढी भएकोले ३०१ भन्दा बढीको उम्मेदवारी परेमा चुनाव हुनेछ ।

ओलीले प्रस्ताव गरेको पदाधिकारीहरुको सुचीमा को को ?

ओलीले प्रस्ताव गरेको पदाधिकारीहरुको सुची अनुसार अध्यक्षमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन् । उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा वादल, विष्णु पौडेल र सुवास नेम्बाङ रहेका छन् ।

यस्तै, महासचिवमा शंकर पोखरेल छन् भने उपमहासचिवमा प्रदिप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल छन् भने सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल पनि समेटिएका छन् ।