धरान: नेकपा एमालेको अध्यक्षमा दोस्रो पटक केपी शर्मा ओली विजयी भएका छन् । 

चितवनमा जारी १० औं महाधिवेशनको निर्वाचनबाट उनले अध्यक्षका प्रत्यासी डा.भीम रावललाई भारी मतान्तरले हराउदै ओली पुनः अध्यक्षमा विजयी भएका हुन् । ओलीले १८३७ मत पाउदा रावलले मात्र २२३ मत पाएका छन् । महाधिवेशनमा कुल २१५३ प्रतिनिधिहरुमध्ये निर्वाचनमा २०९६ मत खसेको थियो । 

यस्तै, उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य (१९७६), विष्णु पौडेल (१९२५), सुरेन्द्र पाण्डे(१८५६), सुवास नेम्बांग (१८६५), युवराज ज्ञवाली (१८४२) र रामबहादुर थापाले १७६८ मत पाएर विजयी भए । उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । उनले ७२५ मत मात्र ल्याए ।

सचिवमा भीम आचार्य पराजित

सुनसरी गृहजिल्ला भएका पार्टीका प्रभावशाली नेता भीम आचार्य भने सचिव पदमा पराजित भएका छन् । उनी यसअघि पनि एमाले सचिव तथा १ नम्बर प्रदेश इञ्चार्ज थिए । दश बुँदे सहमति गरेर एमालेमै बसेका उनी अध्यक्ष ओलीले बन्द सत्रमा प्रस्तुत गरेको पदाधिकारी सुचीमा परेका थिएनन् । मतदानमा उनले ७८८* मत पाएका थिए, जुन मत जितको लागि पर्याप्त भएन । उनीसँगै सचिव पदका उम्मेदवार टंक कार्की पनि ५ सय मात्र मत ल्याएर पराजित भए ।

सात जनाको सचिव पदमा गोकर्ण विष्ट (१७७६), योगेश भट्टराई (१९६४), पद्मा अर्याल (१८००), छविलाल विश्वकर्मा (१८००), लेखराज भट्ट (१७०४), टोपबहादुर रायामाझी (१७००) र रघुवीर महासेठ (१५१३) मत ल्याएर विजयी भए । एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र ३ उपमहासचिवमा पदमा भने निर्विरोध पदाधिकारी चयन भइसकेको थियो । 

*सचिवमा पराजित भीम आचार्यको मत यसअघि अन्यथा भएकोमा सच्याइएको छ ।