धरान: कवि विमल स्मृति पुस्तकालय धरानले हरेक बर्ष एउटा कृतिलाई २ लाख रुपैयाको नगद पुरस्कार दिने भएको छ ।

कवि विमलको ५० औं जन्मजयन्तीको अवसरमा आइतबार आयोजिक ३० औं राष्ट्रिय कविता महोत्सवमा पुस्तकालयले २ लाखको कृति पुरस्कार दिने घोषणा गरेको हो । पुस्तकालयको तर्फबाट पुरस्कारबारे जानकारी दिदै कवि तथा पत्रकार प्रदिप मेन्याङ्बोले हरेक बर्ष एउटा उत्कृष्ट नेपाली भाषी कृतिलाई यो पुरस्कार दिने बताए । उनका अनुसार कृति आख्यान तथा गैरआख्यान जुनै विधाको भएपनि पुरस्कृत गरिनेछ । 

bimal-gurung

पहिलो पुरस्कार आगामी बर्ष २०७९ मंसिर १९ गते दिइने पनि पुस्तकालयले जनाएको छ । त्यसको लागि २०७८ बैशाखदेखि चैत महिनाभित्र प्रकाशित भएका पुस्तकहरु २०७९ बैशाखभित्र पुस्तकालयमा आइपुग्ने गरि पठाउनुपर्नेछ । पुरस्कारको लागि कृति आह्वानबारे सुचना पुस्तकालयको वेभसाइट, फेसबुक पेजलगायत सञ्चारमाध्यमबाट प्रकाशित गरिने मेन्याङ्बोले जानकारी दिए । कृतिकारले आवेदनसहित ५ पुस्तक पुस्तकालयमा पठाउनुपर्नेछ । पुरस्कारको लागि एक अक्षय कोष पनि स्थापना गरिने पनि पुस्तकालयको भनाई छ । 

दुर्घटनामा परि १९ बर्षको किसोर उमेरमा मृत्यु भएका कवि विमलको स्मृतिमा हरेक बर्ष राष्ट्रिय कविता महोत्सव हुदै आएको छ । हरेक बर्ष कार्तिक १९ गते उनको जन्मजयन्तीको दिन प्रतियोगितात्मक महोत्सव हुने गरेको छ । गत बर्ष कोरोनाले रोकिएको कार्यक्रम यो बर्ष एक महिना ढिला भएको हो । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान पनि गरिदै आएको छ ।