धरान: धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले आफु कार्यवाहक मेयर भएको बेला मोही किसानको छोरो हो भनेर मात्र वडा कार्यालयबाट सिफारिश गरिएको बताएकी छिन् ।

क्याम्पसको जग्गा संरक्षण गर्न गठित संयुक्त विद्यार्थी संघर्ष समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले सर्जमिन मुचुल्का गर्दा भने क्याम्पसको जग्गामा मोहीको भोगचलन नभएको र तिरो पनि नतिरेको, उक्त जग्गामा क्याम्पसको भौतिक संरचना भएको भनेर प्रष्ट उल्लेख गरिएको पनि बताइन् ।  उनले मोही किसानको छोरो हो भनेर सिफारिश गर्नु स्थानीय तहको कर्तव्य भएकोले दिन बाध्य भएको बताइन् । तर, उनले जग्गा दिने सिफारिश नभएको जिकिर गरिन् ।

सर्जमिन मुचुल्का गर्न वडा नं ११ का अध्यक्ष बाबुलाल लामालाई दबाब दिएर भुमाफियाहरुको पक्षपोषण गरेको आरोपबारे प्रष्टीकरण दिदै तत्कालिन कार्यवाहक मेयर भण्डारीले प्रमाणहरुले मोही किसानको छोरा हो भन्ने देखिएकोले वडाले सिफारिश दिन्न भन्न नसक्ने पनि बताइन् । ‘कानुन अनुसार मोही किसानको छोरा हो, उनलाई छोरा होइन भनेर वडाले सिफारिश दिन्न भन्न सक्दैन तर हामीले सर्जमिन मुचुल्कामा क्याम्पसको जग्गामा मोहीले भोगचलन गरेको छैन, तिरो तिरेको छैन । सबै क्याम्पस प्रशासनको भवन छ, भोगचलन क्याम्सकै छ भनेर लेखिएको छ,’उनले भनिन् ।

भिडियो:

सिफारिश नगर्दा यथेष्ट प्रमाण हुँदा हुदै पनि मोहीको छोरा हो भनेर सिफारिश दिएन भनेर अदालतमा मुद्दा हाल्ने र त्यहाँबाट जितेर आउने अवस्था भएकोले कानुन व्यवसायीहरुसँग परामर्श गरेको पनि उनले बताइन् । मोहीको छोरा भनेर मात्र सिफारिश गरिएको तर जमिन दिने निर्णय नभएको उनले दाबी गरिन् । उनले पनि भुमिसुधारले नियतवश फैसला गरेको दाबी गरिन् ।

सर्वोच्च अदालतबाट फैसला भइसकेको सर्दु जलाधार क्षेत्रको जग्गा राज्यको नाममा आइरहेको उदाहरण दिदै क्याम्पसको जग्गा पनि संरक्षण गर्ने बताइन् । ‘सर्वदलीय संयन्त्रबाट बाँडिचुडी गरिसकेको जलाधार त सरकारको नाममा फिर्ता ल्यायौ, सर्वोच्चको फैसला त उल्टियो,’उनले भनिन्,‘यो बिषयमा तपाईहरुलाई लाग्ला पैसाको चलखेल भयो, तर मलाई एक रुपैया पनि कसैले लिएको प्रमाण दिनुभयो भने राजिनामा दिन्छु । स्थानीय तह, वडाको जिम्मेवारी भित्रको सिफारिश मात्र भएको हो, जग्गा दिने भएको होइन ।’