धरान: स्वास्थ्य मन्त्री विरोध खतिवडाको संयोजकत्वमा छानबिन समिति गठन भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान एक किसिमले शान्त थियो । विगतमा जस्तो दैनिकरुपमा हुने धर्ना, प्रर्दशन र भाषणवाजीलगायत गतिविधिहरु कम हुदै गएको थियो । यसको कारण थियो, प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले प्रतिष्ठानको ऐन २०४९ को दफा ११ (घ) अनुसार गठन गरेको छानबिन समिति । 

प्रतिष्ठानका पदाधिकारीहरुले पदीय जिम्मेवारी पुरा नगरे पदमुक्त अथवा बर्खास्त गर्न ऐनको यो दफा अनुसार छानबिन समिति गठन गरिनुपर्छ । सोही दफा अनुसार छानबिन समिति गठन भएपछि पदाधिकारीहरु कारबाहीमा पर्ने लगभग निश्चित थियो । त्यसैले आन्दोलनरत संयुक्त संघर्ष समितिले आफ्नो आन्दोलनको स्वरुप बदलेपछि प्रतिष्ठान शान्त झै बनेको थियो । स्वास्थ्यमन्त्री खतिवडा संयोजक रहेको छानबिन समितिले कार्तिक २६ गते प्रतिवेदन प्रधानमन्त्री देउवालाई बुझाइसकेको छ ।

bp-jhadap1

केही समय यता शान्त बनेको प्रतिष्ठान आइतबार दिउँसो भने एक्कासी अशान्त बन्यो । यसको मुख्य कारण थियो, मंगलबार सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश । उक्त आदेशलाई कार्यान्वयन गराउन भन्दै आन्दोलनकारीले यसअघि लगाएको ताला आइतबार प्रहरीले तोडेको थियो । प्रहरीले ताला तोडेपछि उपकुलपति डा.ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साह आफ्नो कार्यकक्षमा प्रवेश गरे । त्यसपछि भने केही समयदेखि शान्त बनेको प्रतिष्ठान पुनः अशान्त बन्यो ।

अदालतको आदेश पालना गराएको: डिएसपी

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले सर्वोच्च अदालतको आदेशलाई पालना गर्दै प्रतिष्ठानका पदाधिकारीहरुको कार्यकक्षमा लागेको ताला तोडिएको बताए । क्लिकधरानसँग मोवाइल सम्पर्कमा कुरा गर्दै डिएसपी कुँवरले भने,‘सर्वोच्च अदालतले स्वास्थ्य संस्थामा लागेको ताला खोल्नु भन्ने आदेश आएकोले सोही आदेशको पालना गरेको हो ।’

सिनेट बैठक नभएसम्म कार्यकक्षमा प्रवेश गर्न दिदैनौ: संघर्ष समिति

bp-andolan

आन्दोलनरत संयुक्त संघर्ष समितिले भने पदाधिकारीहरुलाई कार्यकक्षमा प्रवेश गर्न नदिइने अडान राखेको छ । सरकारले गठन गरेको छानबिन समितिले पदाधिकारीहरुलाई कारबाही गर्न सिफारिश गरेको र प्रक्रियामा रहेको कारण सिनेट बैठक बसेर निष्कर्ष नदिएसम्म पदाधिकारीहरु कार्यकक्षमा बसेर काम गर्ने नैतिक हैसियत नभएको उनीहरुले बताएका छन् । आइतबार प्रहरीले ताला तोडेपछि उपकुलपति डा.गिरी र अस्पताल निर्देशक डा.साह कार्यकक्षमा प्रवेश गरे पनि आन्दोलनकारीहरुको विरोध पछि बाहिरिनु परेको थियो । अस्पताल निर्देशक डा.साह सहजरुपमा कार्यकक्षबाट बाहिरिए पनि उपकुलपति डा.गिरीको कार्यालय परिसरमा भने प्रहरी र आन्दोलनकारीबीच झडप नै भएको थियो । स्थिति तनावग्रस्त बन्दै गएपछि मात्र उपकुलपति भित्रि बाटोबाट बाहिरिएका थिए ।

संघर्ष समितिका संयोजक डा.एस.पी.रिमालले सर्वोच्च अदालतले विरामीको उपचार होस् भन्ने आदेश भएको उल्लेख गर्दै चाबी खोलेर भनेर प्रहरी प्रशासन राखेर भित्र लुकेर बस्न नभनेको बताए । प्रतिष्ठानमा गरिब जनताको उपचार हुनुपर्छ, रिफर हुनु हुदैन भनेर आन्दोलन गरेको र उक्त आन्दोलन जारी रहेको डा.रिमालले बताए । प्रतिष्ठानको काम गर्न नरोकेको भन्दै उनले सिनेटले निर्णय नगरेसम्म कुर्सीमा आएर बस्ने नैतिक हैसियत नभएको पनि बताए । ‘जबसम्म सिनेटबाट गंगाजल छर्केर आउनुहुन्न, तबसम्म उहाँहरुलाई कुर्सीमा बस्ने हैसियत छैन,’उनले भने । 

उपचार सेवा अवरुद्ध नभएको भन्दै डा.रिमालले इर्मंजेन्सीमा, ओपिडीमा, अप्रेशन, कोभिड अस्पतालमा विरामीको उपचार जारी रहेको पनि रिमालले बताए । विद्यार्थीहरुको पढाई पनि जारी रहेको उनको भनाई छ । सरकारले रुटिन कामबाहेक अरु काम नगर्न सरकारले भनेपनि पदाधिकारीहरुले टेण्डर खोल्ने काम भएको पनि उनले बताए । 

संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले सिनेट बैठक मात्र कुरेर आफुहरु बसेको बताए । उनले सिनेटले पदाधिकारीहरु काम गर्न सक्छन् भनेर छुट दिएमा त्यसलाई सम्मान गर्ने पनि बताए । उनले भने,‘सिनेटले उनीहरुलाई काम गर्नसक्छन् भनेर छुट दियो भने हामी सम्मान गर्नेछौ, तर अहिलेसम्म कुनै पनि प्रतिवेदनले पदाधिकारीको कुरा ठिक भनेको छैन,’उनले भने । 

भिडियो: