धरान: धरानमा ३ दिनसम्म ‘धरान डे’ मनाउने तयारी भएको छ । 

बुधबार मेयर तिलक राईको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले पुस २०, २१ र २२ गते ‘धरान डे’ मनाउने निर्णय गरेको हो । धरान उपमहानगरपािलकाले पुस २० गतेलाई स्थापना भएको दिनको रुपमा मानेर विविध कार्यक्रम गरि ‘धरान डे’ मनाउदै आएको छ ।

पुस २० गते पहिलो दिन बिहान ११ बजे धरान १२ स्थित पब्लिक हाईस्कुलबाट सांस्कृतिक झाँकी सहितको र्याली निकालिने छ भने दिउँसो १ बजे कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले ‘धरान डे’ उत्सवको औपचारिक रुपमा उद्घाटन गर्नेछन् । सोही दिन पब्लिक हाईस्कुलको प्रांगनमा साँझ ५ बजेदेखि राति ९ बजेसम्म साँगीतिक कार्यक्रम हुनेछ । 

दोस्रो दिन बिहान ७ बजे धरानका सबै वडाहरुमा वडा कार्यालय मार्फत टीएलओ परिचालन गरी वडा सरसफाई गर्ने, संघसंस्था परिचालन गरी जिरोप्वाईन्ट देखि तिनकुनेसम्म प्लाष्टिक सरसफाई कार्यक्रम र मास साईकलिङ आयोजना गरिनेछ । उक्त दिन बिहान साढे १० बजे धरान प्रज्ञा प्रतिष्ठानको समन्वयमा बहुभाषिक कविता गोष्ठी हुनेछ भने दिउँसो १ बजे धरानको दिर्घकालिन विकास सम्भावना तथा अवसर विषयक कार्यपत्र प्रस्तुती र छलफल हुनेछ । साँझ ५ बजेदेखि राति ९ बजेसम्म सांगीतिक कार्यक्रम हुनेछ । 

तेस्रो दिन बिहान साढे १० बजेदेखि लोक जुवारी कार्यक्रम हुनेछ । दिउँसो साढे १ बजे जातिय सांगीतिक कार्यक्रम प्रस्तुति हुनेछ । दिउँसो साढे १ बजेदेखि साढे २ बजेसम्म पब्लिक हाईस्कुलको प्रांगणमा रस्सी तान प्रतियोगिता हुनेछ भने साढे २ बजे कार्यक्रम समापन गरिनेछ । बेलुका ४ बजेदेखि ५ बजेसम्म पोखराको सांस्कृतिक प्रस्तुती, साँझ ५ बजेदेखि धरानका कलाकारको प्रस्तुती हुने उपमहानगरपालिकाले जनाएको छ । 

मेयर राईले धरानमा रहेका जातीहरुको साँस्कृतीक भेषभूषा, गरगहना, जातीय नाच र खानपानलाई विशेष बाह्य तथा आन्तरीक पर्यटकहरुमा जानकारी गराउन उत्सव आयोजना गर्न लागिएको बताए । पुस २० गते पहिलो दिन धरान उपमहानगरपालिका क्षेत्रमा सार्वजनिक विदा दिने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ । कार्यपालिका बैठक पुस १६ गते बिहान ८ बजे पुनः बस्नेछ ।