धरान: धरानको १२१ औं बर्ष स्थापना दिवसको अवसरमा हुन लागेको तीन दिने धरान डे उत्सवमा प्रमुख अतिथिकोरुपमा प्रधानमन्त्री देउवा धरान आउदैछन् । 

पुष २० गते दिउँसो १ बजे उत्सवको उद्घाटन प्रधानमन्त्री देउवाबाट हुनेछ । त्यसअघि भने देउवाले धरानको विभिन्न योजना तथा विकास निर्माणको उद्घाटन र अवलोकन गर्ने कार्यतालिका रहेको छ । धरान डे उत्सवबारे जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा मेयर तिलक राईले भने,‘धरान डेमा सम्माननिय प्रधानमन्त्री आउदै हुनुहुन्छ, यो खुशीको कुरा हो । उहाँबाट उत्सवको समुद्घाटन हुनेछ । त्यसअघि विभिन्न योजनाहरुको उद्घाटन र अवलोकन पनि गर्नुहुनेछ ।’

धरान डे उत्वसको औपचारिक उद्घाटन अघि प्रधानमन्त्री देउवाले धरानको वडा नं ४ र १५ को बीचमा सेउती खोला निराजन वस्तीमा निर्माण सम्पन्न भएको पक्की पुलको उद्घाटन गर्नेछन् भने धरान ६ पानवारीस्थित फोहार मैला प्रशोधन केन्द्रको पनि उद्घाटन गर्नेछन् । यस्तै, धरान १२ स्थित पब्लिक हाई स्कुलमा निर्माण भएको प्राविधिक भवनको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने धरान ८ स्थित निर्माणाधिन स्मार्ट बसपार्कको अवलोकन गर्ने कार्यक्रम रहेको मेयर राईले बताए । ‘यी योजनाहरु भएको ठाउँमा लामो कार्यक्रम हुदैन । उद्घाटन र अवलोकन गर्ने मात्र कार्यक्रम हुन्छ,’उनले भने ।

र्याफ्टिङ र प्याराग्लाइडिङमा बिशेष छुट

dharan-day-press-meet

धरान डे उत्सवमा घुम्न आउने पर्यटकहरुलाई र्याफ्टिङ र प्याराग्लाइडिङ सम्बद्ध पर्यटन व्यवसायीहरुले बिशेष छुटको घोषणा गरेका छन् । उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा पर्यटन व्यवसायीहरुले छुटको घोषणा गरेका हुन् । 

र्याफ्टिङ व्यवसायी तथा धरान पर्यटन समितिका सहसंयोजक मदन ढकालले तमोर हुदै सप्तकोशी त्रिवेणी चतरासम्मको एक दिने र्याफ्टिङ प्याकेजमा प्रतिव्यक्ति २० प्रतिशत छुट दिइने जानकारी दिए । उनका अनुसार एक व्यक्तिको शुल्क ३ हजार रहेको छ । त्यसमा धरान डे उत्सवभरि र्याफ्टिङ जान चाहने पर्यटकहरुलाई २० प्रतिशत छुट दिइने उनले बताए ।

यस्तै, धरानको आकाशमा उड्न चाहने पर्यटकहरुलाई प्याराग्लाइडिङ कम्पनीबाट ३० प्रतिशट छुट दिइने भएको छ । प्याराग्लाइडिङ संघका प्रदेश १ अध्यक्ष रहेका भुपेन राईले धरान डे अवधिभर उड्न चाहने पर्यटकहरुलाई ३० प्रतिशत छुट दिइने बताए । अन्य समयमा प्रतिव्यक्ति ६६०० शुल्क तिर्नुपर्ने पर्यटकहरुले धरान डे उत्सवको बेला उडेमा ४५ सय मात्र तिर्नुपर्ने उनले बताए ।