धरान: नेकपा एमाले सुनसरी जिल्ला कमिटीले पुर्वकेन्द्रीय सदस्य धर्मराज निरौला ५ सय कार्यकर्तासहित नेकपा एसमा प्रवेश गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपा एमालेका जिल्ला अध्यक्ष खेमराज पोख्रेलले प्रेश विज्ञप्ती जारी गर्दै नेकपा एसलाई अवैधानिक पार्टी भन्दै विचारले स्खलित र पदलोलुप व्यक्तिले एमाले छोड्दा गोयवल्स शैलीमा दुष्प्रचार गरिएको आरोप लगाएका छन् । सधै एउटै पदमा बसिरहनुपर्ने, आफुलाई केन्द्र विन्दुमा राखेर न्याय र अन्याय छुट्याउने, एक कार्यकाल पद नपाउदैमा पहाड खसे जस्तो गर्ने, आफु सरहका कमरेडहरुको बिषयमा चिन्ता नगर्ने लगायत प्रवृत्ति बोकेका मान्छे नै नायक जस्तो भएर ५ सय भन्दा बढी एमाले सदस्यहरु लिएर पार्टी त्याग गरेको समाचार सम्प्रेषण गर्न लगाएको पनि विज्ञप्तीमा उल्लेख छ ।

अध्यक्ष पोखरेलले आन्दोलनको भट्टीबाट स्पात झै खरिएका नेता कार्यकर्ताहरुलाई यस्ता कुराले कुनै फरक नपर्ने बारे पदलोलुप ब्यक्तिहरुलाई जानकारी नहुनु स्वभाविक भएको पनि दाबी गरेका छन् । उनले कपोकल्पित, भ्रामक, तथ्यहिन र मनोगढन्ते समाचारको पक्षमा नलाग्न पनि पार्टी सदस्यहरु तथा शुभचिन्तकहरुलाई अपिल गरेका छन् । संविधानसभा सदस्यसमेत रहेका नेता निरौला नेकपा एमालेको गएको १० औं महाधिवेशन अघि केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इञ्चार्ज थिए । महाधिवेशनमा भने उनी केन्द्रीय सदस्य बन्न नसकेपछि असन्तुष्ट थिए । उनलाई नेकपा एसले पोलिटब्युरो सदस्य बनाउने जनाएको छ ।







