धरान: सुनसरीको बराहक्षेत्र नगरपालिका ३ स्थित स्वर्णिम साहित्य समाज कला तथा साहित्यको क्षेत्रमा समर्पित संस्था हो । युवा साहित्यकारहरुले स्थापना गरेको यो समाजले सृर्जनशील एवं नयाँ कार्यक्रम तथा गतिविधिहरु गर्दै आएको छ । 

हालै बराहक्षेत्रको नडाहामा आयोजित एक कार्यक्रममा समाजले कला र साहित्यमा समर्पित भएका सर्जक तथा श्रष्ठाहरुको लागि स्वर्णिम साहित्य पुरस्कार तथा सम्मानको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ । उक्त कार्यक्रमका प्रमुख अतिथीकोरुपमा अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूह भारतका उपाध्यक्षसमेत रहेका कवि तथा साहित्यकार भीम बिरही राई रहेका थिए । उनै साहित्यकार राईले समाजको पुरस्कार तथा सम्मानको अक्षयकोष घोषणा गर्दै सार्वजनिक गरेका थिए । 

प्रमुख अतिथि राईले यो पुरस्कार तथा सम्मानको घोषणा गर्न पाउदा खुशी व्यक्त गर्दै यसले कला र साहित्यमा समर्पितहरुका लागि कोशेढुङ्गा हुने बताए । उनले स्वर्णिम साहित्य समाजलाई स्थापनाकालदेखि नै नजिकबाट नियालिरहेको खुलाउदै भने,'यो खालको गतिशीलताले सर्जक र सिर्जनालाई नै उचाईमा पुर्याउनेछ, आजको यो दिन कला र साहित्यका पारखीहरुको निम्ति ऐतिहासिक भएको छ ।' 

swarnim1

करिब ५ लाख रुपैयाको अक्षयकोषबाट प्राप्त हुने रकमले नेपाली साहित्यमा समर्पित सर्जक र श्रष्ठालाई पुरस्कार र सम्मान प्रदान गरिने अक्षयकोषका प्रवक्ता प्रकाश दिप्साली राईले जानकारी दिए । उनका अनुसार कोषमा ३ लाख जम्मा भएपछि पुरस्कार र सम्मान गर्न शुरु गरिनेछ । अक्षयकोषमा भने ५ लाख रुपैया रकम जम्मा गर्ने लक्ष्य रहेको पनि उनले बताए । उनले भने,'यो ठूलो राशीको पुरस्कार त नहोला तर कवि लेखकलाई प्रोत्साहन भने यसले जरुर गर्नेछ ।' उनले कोषको लागि हालसम्म नगद १ लाख ३० हजार संकलन भइसकेको र १ लाख ५० हजार रुपैया बराबरको प्रतिवद्धता पनि रहेको बताए । 

उक्त कार्यक्रममा कोषका लागि अर्जुन श्रेष्ठ,  मुनविम एकेडेमीका राजेन्द्र निरौला, हतुवाली जेठा, पात्लेपानी कलारसाहित्य प्रतिष्ठान लगायतले सहयोग तथा प्रतिबद्धता व्यक्त गरेका थिए । पात्लेपानी कलारसाहित्य प्रतिष्ठानका संस्थापक बिश्वजित राईले आफ्नो क्षेत्रको कवि भएको भन्दै प्रमुख अतिथि राईलाई फेटा गुथाएर शिर उठाउनी गरेका थिए ।

कार्यक्रममा गजलकार शारदा निरौला शारु र कवि तिर्थ बिश्वकर्माको गजल तथा कविता वाचन गरेका थिए । उनीहरुले ३ गजल र ३ कविता सुनाए । समाजका अध्यक्ष शरण लिम्बुको अध्यक्षतामा आयोजित कार्यक्रम समाजका सह(सचिव लक्ष्मण कट्वालले संचालन गरेका थिए भने स्वागत मन्तव्य कवि सबिता फागो चोङ्बाङले राखेकी थिइन् ।