धरान: नेकपा एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा रेवतीरमण भण्डारी विजयी भएका छन् । 

पार्टी कार्यालय इनरुवामा भर्खर सम्पन्न मतगणना अनुसार उनले निकटतम प्रतिद्धन्दी खेमराज पोख्रेललाई १४५ मतले पराजित गर्दै विजयी भएका हुन् । कुल १८०५ मत खसेको थियो । त्यसमध्ये विजयी भण्डारीले ९२० मत पाए भने पोख्रेलले ७७५ मत पाए । अर्का उम्मेदवार द्धारिकलाल चौधरीले ८० मत मात्र पाए ।

यस्तै, उपाध्यक्षमा पनि भण्डारी प्यानलका निलम खनाल विजयी भएका छन् । उनले १०११ मत पाउदा प्रतिस्पर्धी नन्दकुमार बस्नेतले ७०० मत पाए । दुई उपसचिवमा राम कोइराला ८२१ र योग्यराज खड्का ५६३ मत ल्याएर विजयी भए । कोइराला अध्यक्ष भण्डारीको प्यानलमा थिए । उपसचिवमा पराजित भएका उम्मेदवार पदमप्रसाद लिम्बुले ५२५, अञ्जनीकुमार पोख्रेलले ४९५, लोकेश निरौलाले ४८४, अर्जुन गहतराजले २२९ र लहरुमाया जिमीले २४० मत पाएका छन् । 

यसअघि सचिव पदमा पर्शुराम यादव सर्वसम्मत निवार्चित भइसकेका थिए । पदाधिकारीहरुमा सर्वसम्मत गर्ने प्रयास असफल भएपछि पुष २७ गते मतदान भएको थियो । अध्यक्षका उम्मेदवार भण्डारी र पोख्रेल दुवै संस्थापन पक्षका थिए । पोख्रेललाई १० बुँदे पक्षले समर्थन गरेर उम्मेदवार बनेका थिए ।