धरान: धरानको चर्चित फुटवल प्रतियोगिता २२ औं गोधुली टुबोर्ग रनिङ कपको फाइनल खेल आज हुदैछ । 

धरान १६ स्थित रंगशालामा हुने फाइनल खेलमा वडा नं १६ र वडा नं १३ उपाधिको लागि मैदानमा भिड्दैछन् । फाइनल खेल दिउँसो १ बजे हुने आयोजकले जनाएको छ । वडा नं १६ गत बर्ष पनि फाइनल खेलेको टोली हो । गएको सँस्करणमा फाइनलमा वडा १४ सँग वडा १६ पराजित भएको थियो । अहिलेसम्म उपाधिविहिन वडा १६ ले हिजो सेमीफाइनलमा भने वडा १४ लाई नै हराउदै फाइनल पुगेको हो । साविक विजेता वडा १४ लाई २–१ गोलअन्तरले हराउदै वडा १६ फाइनल प्रवेश गरेको हो । 

यस्तै, फाइनल खेल्ने तयारीमा रहेको वडा नं १३ एक पटक गोधुली च्याम्पियन भइसकेको छ । वडा १३ ले २०७४ सालमा आयोजित १७ औं सँस्करणमा उपाधि जितेको थियो । हिजो भएको सेमीफाइनलमा वडा १३ ले चार पटकको विजेता वडा नं ८ लाई २–० गोलअन्तरले हराउदै फाइनल प्रवेश गरेका हो । 

दुवै टोली उच्च फर्म तर खेलाडी थकित

final

आयोजक गोधुली क्लबले माघ ८ गते फाइनल खेल हुने गरि खेल तालिका बनाएको थियो । तर, कोरोना संक्रमणको कारण सरकारले भिडभाड हुने गतिविधिहरुमा कडाई गरेपछि गोधुली कप पनि प्रभावित पर्यो । 

माघ ८ गते हुने भनिएको फाइनल खेल माघ २ गते गर्नुपर्ने स्थिति बन्यो । त्यसपछि दैनिक ४ वटासम्म खेल आयोजना गर्नुपरेको थियो । जसले गर्दा खेलाडीहरुले एक दिन पनि आराम गर्न नपाई दैनिकरुपमा खेल्नुपर्दा निक्कै थकित भए । यसले फाइनल खेलमा उनीहरुको प्रर्दशन कस्तो होला भन्ने प्रश्न पनि छ ।

लगातार खेल्नु परे पनि दुवै टोली भने उच्च फर्ममा नै छन् । वडा नं १३ का टिम मेनेजर सिजन राई खेलाडीहरुले लगातार खेल्नुपरे पनि मनोवल उच्च रहेको बताउँछन् । उनले उपाधि जित्ने लक्ष्य लिएर आज मैदानमा खेलाडीहरु उत्रिने बताए । ‘४ खेल लगातार खेल्यौं, अब १ दिन त हो, खेल्छौं भन्ने भावना खेलाडीहरुमा छ,’उनले भने,‘हाम्रो सबै खेलाडी भरपर्दो छ, टिमसेट छ ।’

यस्तै, वडा नं १६ का प्रशिक्षक विकास मगर उपाधि जित्न मैदानमा उत्रिने बताउँछन् । उनले निरन्तर खेल्नुपरे पनि खेलाडीहरु मानसिक र शारीरिकरुपमा तयार रहेको बताए । ‘आज फाइनल हो, खेलाडीहरु मेन्टल्ली र फिजिकल्ली तयार छन्,’उनले भने,‘हाम्रो पुरानौ रणनीति छ, केही समस्या भयो भने परिवर्तन हुन्छ ।’