धरान: २२ औं संस्करणको गोधुली फुटबल रनिङ कप प्रतियोगितामा धरानको वडा नं १३ पनि फाइनल प्रवेश गरेको छ । 

शनिबार भएको दोस्रो सेमीफाइनल खेलमा वडा नं ८ लाई २–० गोल अन्तरले हराउदै वडा १३ फाइनल प्रवेश गरेको हो । अब भोली आइतबार हुने फाइनलमा वडा नं १३ ले वडा नं १६ को सामना गर्नेछ । शुक्रबार नै भएको पहिलो सेमीफाइनलमा वडा नं १४ लाई हराउदै वडा नं १६ फाइनल प्रवेश गरिसकेको छ । 

वडा नं १३ को लागि अशोक कटवाल र दोर्जे तामाङले गोल गरेका थिए । दोस्रो हाफको २० मिनेटमा अशोकले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको ३० मिनेटमा पेनाल्टीमार्फत दोर्जेले गोल गरेका थिए । वडा ८ का खेलाडीले डिबक्स भित्र विपक्षी खेलाडी लगाए पछि वडा नं १३ ले पेनाल्टी अवसर पाएको थियो । खेलको म्यान अफ दि म्याच दोर्जे तामाङ घोषित भए । उनले नगद २५ सय पुरस्कार हात पारे । 

आइतबार फाइनल खेल दिउँसो १ बजे धरान रंगशालामा हुने आयोजक गोधुली क्लबले जनाएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार र उपविजेताले नगद ७५ हजार पाउनेछन् । उनीहरुले थप २५ २५ हजार रुपैया वडा नं १८ का अध्यक्ष प्रविण राई र बेलायत निवासी अध्यक्ष राईका बुबाले प्रदान गर्ने पनि घोषणा गरेका छन् ।